प्रधानमन्त्री ज्यू ! सडकमा मान्छे उतार्दा कोरोना संक्रमण फैलिएन ?

पार्टी र सरकारलाई कसरी सुधार्ने, जनताप्रति उत्तरदायी बनाउने भन्ने छलफल गर्न पार्टी बैठक माग गर्दा गैहजिम्मेवारपन

सफल खबर संवाददाता

बुधबार, २१ साउन २०७७, १० : ४५
प्रधानमन्त्री ज्यू ! सडकमा मान्छे उतार्दा कोरोना संक्रमण फैलिएन ?

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँगको एक छलफलमा भनेका थिए, –‘झण्डै दुई तिहाई जनमत सहित सरकारको नेतृत्व गरेको प्रधानमन्त्रीलाई हटाउन खोजेपछि मान्छेहरु स्वस्फूर्त सडकमा आउँदैनन त ? हेर्दै जानुहोला अझ धेरै आउँछन् ।’ असार २३ गते प्रचण्डसँगको छलफलमा ओलीले त्यस्तो भनेका थिए । जतिबेला उनको समर्थनमा ओलीले मध्यरात युवा र विद्यार्थीका आफु निकट नेताहरुले बालुवाटारमा बोलाएर सडकमा जुलुस प्रदर्शन गर्न फर्मान जारी गरिरहेका थिए ।

त्यसैको भोलिपल्टबाट बनिबनाउ जुलुस सडकमा देखिएका थिए । विद्यार्थी नेता ऐन महर र रमेश पौडेलहरु ओलीले अहिले लगानी बोर्डमा नियुक्ति दिलाएका विवादास्पद व्यापारी शुसिल भट्टको कमलादीस्थित मार्काेपोलो होटलमा बसेर सडक योजना बनाउँथे र युवा विद्यार्थीलाई आफ्नै पार्टीका नेताहरुलाई कथित दलाल करार गर्दै सडक प्रदर्शनमा उतार्थे । जति प्रयास गर्दा पनि ओलीको पक्षमा खासै मान्छेहरुको उपस्थिती हुन सकेन् । कोभिड संकटका बेला प्रधानमन्त्री ओलीले नै सडकमा भीडभाड गर्ने, हुलहुज्जत गर्ने र आफ्नो पक्षमा योजनाबद्ध ढंगले मानिसहरु उतार्ने काम गरे । त्यसलाई ओलीले पूरै नजरअन्दाज गरे ।

आफनो पक्षमा देखिने जुलुसलाई प्रहरीले पनि केही गर्न सक्ने वातावरण नै बनेन् । हुलमुल गर्ने, कोरोनाका लागि सामाजिक दुरी कायम राख्नुपर्छ भन्ने कुनै सुरक्षा मापदण्ड लागु गर्नु परेन् । खुलेआम असुरक्षित रुपमा पनि सडकमा प्रदर्शन गर्दा समेत प्रहरी मुकदर्शक मात्र बन्न बाध्य भए ।  तर कोरोना परिक्षणको दायरा बढाउन पर्यो, सरकारले कोरोनाका नाममा गरेको खर्चको हिसाबकिताब पारदर्शी रुपमा सार्वजनिक गर्नुपर्यो, औषधी खरिदमा भ्रष्टाचारमा मुछिएकामाथी कारवाही गर्नुपर्यो भन्दै सुरक्षा मापदण्ड अवलम्बन गर्दै युवाहरुको उत्रेको सडक प्रदर्शनमा भने प्रहरी परिचालन गरेर दमनकारी निति लिइयो । ओलीको यो देखिएकै दोहोरो रवैया थियो ।

त्यसप्रति ओलीमा कुनै लज्जाबोध देखिएन् । तर लथालिंग हुदै गएको पार्टी एउटा टं्याकमा ल्याएर चलायमान बनाउने, सरकारको अलोकप्रियतालाई सच्चयाएर लैजान पहल गर्ने पार्टी बैठक माग गर्दा ओलीलाई नाजायज लाग्न थाल्नु अनौठो देखिएको छ । अनि अहिले पार्टीभित्रको विधि पद्धती मान्नुपर्ने, ओलीको स्वेच्छाचारिता र अहंकारवादी प्रवृत्तिको विरोधमा रहेका नेताहरुले पार्टी बैठक माग गर्दा ओलीलाई आफ्नै नेताहरु देश र जनताप्रति गै¥ह जिम्मेवार लाग्न थाले ।  पार्टी बैठकप्रति निक्कै अरुची देखाईरहेका ओलीले मंगलबार बैठक बोलाउन माग गर्ने नेताहरुलाई लक्षित गर्दै भने, ‘केही मानिस, केही माध्यम र केही संस्थाहरुमा अत्यन्तै गैह्र जिम्मेवारपन देखिन्छ ।

यथार्थमा भन्दा अन्त बुझ्न गइरहन पर्दैन मेरै पार्टीमा देखिन्छ । सरकारले २५ जनाभन्दा बढी भेला नहुन भनेको छ । तर, मेरै पार्टीमा ४५० को केन्द्रीय कमिटी तुरुन्त चाहियो भन्छन्, कहाँ बस्ने हो ? के गर्ने हो ? त्यस्तो सोच केही पनि छैन । तर, बैठक चाहिँ चाहियो भन्ने कुरा त मेरै पार्टीमा छ । स्थायी कमिटी अहिले नै बस्नुप¥यो, भरे बस्नुप¥यो त्यसबाहेक केही छैन् । देश र जनताप्रतिको गम्भीर उदासिनता, लापरवाही, वेवास्ता गर्ने प्रवृति र आफ्ना स्वार्थका पछाडि कुद्ने प्रवृतिहरु निकै व्यापकरुपमा अहिले देखिएको छ ।’

सत्तासिन दल नेकपामा प्रधानमन्त्री ओलीको पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल लगायत नेताहरुले राजीनामा माग गरिरहेका छन् । पार्टीभित्रकौ विवाद उत्र्कषमा रहैकै बेला पार्टी स्थायी समिति बैठक १० असारयता जारी नै रहेपनि अहिले बैठक राख्ने, नराख्नेमै विवाद हुँदा अवरुद्द बनिरहेको छ । ओलीको अनिच्छाका बाबजुद पनि १५२ जना केन्द्रीय सदस्यले लिखित रुपमै विधानको विशेष ब्यवस्थाको प्रावधानमा टेकेर अहिले केन्द्रीय समिति बैठक बोलाउन माग भएको छ । 

यसैलाई विषयान्तर गर्न ओलीले मंगलबार पार्टी बैठक माग गर्ने नेताहरुलाई जनताप्रति उदासिन रहेको आरोप लगाउन पुगेका हुन् । अचम्म त के छ भने, उनले आफ्नो जयजयकारका लागि पञ्चायती शैलीमा आफ्ना मान्छेहरुलाई योजनाबद्ध रुपमा सडकमा उतार्दा कुनै गै¥ह जिम्मेवारपन नहुने, मदन भण्डारी फाउन्डेसनका नाममा देशभर पार्टी नेता अतिथि बनाएर सयौं मान्छेहरुलाई भेला पारेर पार्टी एकताका क्रममा छोडिसकेको जनताको बहुदलीय जनवादको फेरि वकालत गर्ने काम गरिरहदा गैह जिम्मेवारपन नहुने ओलीको दोहोरो रवैया देखिएको नेकपा नेताहरु नै बताउन थालेका छन् ।

आफैले २५ भन्दा बढी मान्छे सहभागी नहुन गरेको आग्रह विपरित पार्टी नेताहरु बैठक माग गर्छन भन्ने ओलीले आफ्नो बचाउका लागि गरेको सडकको ताण्डवले अहिले उनैलाई गिज्याईरहेको नेकपाकै एक स्थायी समिति सदस्यले बताए ।  ‘पद र कुर्सी जोगाउन बालुवाटारमा हुलका हुल मान्छे जम्मा पारेर छलफल गर्न हुने, सडकमा आफ्नो पक्षमा नाराबाजी गर्न मान्छे उतार्ने । अहिले पार्टी बैठक राखौं, पार्टीमा देखिएको विवादबारे समाधान निकालौं भन्दा कोरोना देखाउँदै पन्छाउने,’ स्थायी समिति सदस्य मात्रिका यादवले भने,–‘ यो प्रधानमन्त्रीको नौटंकी मात्र हो । उहाँलाई आफनो लागि लाग्दा सुरक्षा मापदण्ड चाहिन्न, जे पनि गर्ने, आवश्यक सुरक्षा मापदण्ड अवलम्वन गरेर पार्टीको समस्या समाधानका लागि बैठक राखौं भन्दा कोरोना बहाना बनाउने ? उहाँ (प्रधानमन्त्री)को सोच नै खराव छ ।’

ओलीले आफनो सत्ता टिकाउन जे पनि गर्ने गरेको भन्दै स्थायी समिति सदस्य यादवले भने, –‘प्रधानमन्त्री ओलीज्यूलाई आफ्नो पद र कुर्सी सबैभन्दा प्यारो छ । त्यसका लागि बालुवाटार र सडकमा लाखौं जनता उतार्न पनि तयार हुनुहुन्छ । त्यतिबेला कोरोना संक्रमण फैलिन्छ भन्ने चिन्ता हुँदैन । तर, पार्टीमा देखिएका समस्या समाधानका लागि बैठक माग हुन्छ, उहाँ (ओली) बैठक राख्दै चाहनुहुन्न । बैठक राखे पनि भाग्नुहुन्छ । किनकी उहाँसँग कोरोनाको बहाना छ । अहिले फेरि बैठकबाट भाग्न उहाँले कोरोना देखाउन थाल्नुभएछ ।’

चार महिना कोरोना नियन्त्रण र रोकथामका लागि लकडाउन गर्ने घोषणा गर्दा सरकारले कुनै पूर्व तयारी गरेन् । लकडाउन लगाएर मात्र सरकार आनन्दले आफनो सत्ता जोगाउन वैधअवैध जुनकुनै काममा मात्र लागिरह्यो । तर जनताको आर्थिक समाजिक जीवनमा कोरोनाले पारेको प्रभावका विषयमा सरकारले कुनै सम्बोधन गर्ने सकेन् । अहिले फेरि ओलीमाथी पार्टी बैठक नबोलाई नहुने चर्काे दबाब परेपछि उनले कोरोना बहाना खोजेका छन् ।

नेकपा स्थायी समितिका अर्का एक सदस्यले भने,–‘ कोरोनाका लागि आवश्यक सुरक्षा सर्तकता सवै अवलम्वन गर्नुपर्छ । तर यसको अर्थ पार्टी र सरकारलाई लथालिंग स्वेच्छाचारि ढंगले छोडने भन्ने हुदैन । खबरदारी गर्न, ट्रयाकमा ल्याउन आवश्यक पार्टी छलफल, बैठक गर्ने, कमजोरी सुधार्ने, सुधार्ने नसक्ने अवस्था देखिए अर्काे नेतृत्व स्थापित गर्ने सम्मका काम गर्न कोरोनाले रोक्दैन । रोक्न आवश्यक पनि छैन ।’

ओलीको बहानाबाजी तोडेरै अगाडी जानुपर्ने पनि ति नेताले बताए । ‘उहाँहरुले काभ्रेमा प्रदीप ज्ञवाली लगेर गरेको कार्यक्रम नदेख्ने, सडकमा जयजयकारका लागि राज्य शक्तिको दुरुपयोग गर्दै मान्छे उतार्दा नदेख्ने, अनि पार्टी र सरकारलाई कसरी सुधार्ने, जनताप्रति उत्तरदायी बनाउने भन्ने छलफल गर्न पार्टी बैठक माग गर्दा गैहजिम्मेवारपन देखिने भन्ने पनि हुन्छ र ?’–ति नेताले प्रश्न गरे । 

प्रतिक्रिया दिनुहोस