नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा स्थायी समिति बैठक बस्ने तयारी

सफल खबर संवाददाता

मंगलबार, १३ साउन २०७७, ११ : ३६
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा स्थायी समिति बैठक बस्ने तयारी

फाइल फोटो

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक एकपक्षीय रुपमा स्थगित भएको पाइएको छ । मंगलबारका लागि तय भएको स्थायी समिति बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डसहितका अन्य कुनै नेताहरुसँग परामर्श नगरी स्थगित गरेका हुन् । 

यसैबीच, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक बस्ने तयारी भइरहेको छ । झलनाथ खनाल, माधवकुमार नेपाल र प्रचण्ड बैठक कक्षमा पुगिसकेका छन् । स्थायी कमिटीहरू आउने क्रम जारी छ ।

नेकपाका एक स्थायी समिति सदस्यले बैठक स्थगित गरेर ओलीले अर्को गल्ती गरेको आरोप लगाए । ओलीमा अराजकता हावी भएको भन्दै लगातार बैठक छल्दै मनपरी गरिरहेको र अहिले एकपक्षीय रुपमा स्थायी समिति बैठक अर्को गल्ती गरेको उनले बताए । 

बैठक बस्नुपर्ने भन्ने पक्षमा आफूहरु रहेको भन्दै परामर्शबिनै स्थगित भएको बैठक आफूहरुलाई अमान्य भएकाले यस विषयमा छलफल चलिरहेको बताए । ‘एकपक्षीय रुपमा बैठक स्थगित गर्ने काम भएको छ, यो हामीलाई मान्य छैन’ उनले भने, ‘अधिकांश साथीहरु बैठक बस्नुपर्ने पक्षमा हुनुहुन्छ । हामी कसरी अघि बढ्ने भन्नेबारे छलफलमा छौं ।’

नेताहरुका अनुसार प्रधानमन्त्री ओलीले पूर्वनिर्धारित बैठकअघि प्रचण्डलाई छलफलका लागि बालुवाटार बोलाएका थिए । तर प्रचण्ड १० बजेसम्म पनि बालुवाटार नपुगेपछि ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गरेका थिए । 

पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी रहेको हुनाले पार्टी स्थायी कमिटीको बैठक स्थगित गरिएको नेकपा कार्यालय सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस