राप्रपाबाट अलग भएका सूर्यबहादुर थापाका छोरा काँग्रेस प्रवेश गर्दै

सहमहामन्त्री बनाउने आश्वासन

सफल खबर संवाददाता

आइतबार, ११ साउन २०७७, ०९ : ५२
राप्रपाबाट अलग भएका सूर्यबहादुर थापाका छोरा काँग्रेस प्रवेश गर्दै

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा सधैभरी पूर्व पञ्चहरुको नेतृत्वदायी राजनीति गर्दै आएका सूर्यबहादुर थापाका छोरा काँग्रेस प्रवेश गर्ने भएका छन् । स्वर्गीय थापाका छोरा सुनिल बहादुर थापा पनि राप्रपाका नेता थिए ।  उनी पूर्व मन्त्री पनि हुन् । उनले शनिबार मात्र आफुहरु राप्रपाबाट अलग भएको घोषणा गरेका छन् । 

थापा सहितका १३ नेता कार्यकर्ताले हिजो राप्रपाबाट आफुहरु अलग भएको घोषणा गरेका थिए । विपक्षी काँग्रेसले उनीहरुलाई काँग्रेस प्रवेशका लागि विगत लामो समय देखि गृहकार्य गर्दै आईरहेको थियो । सुनिल बहादुर थापालाई काँग्रेसले सहमहामन्त्री बनाउन लागेको छ ।

उनीहरुलाई पर्सि मंगलबार (१३ साउन) मा विधिवत रुपमा काँग्रेस प्रवेश  गराउने कार्यक्रम छ । त्यसका लागि काँग्रेसले सम्पूर्ण तयारी पूरा गरिसकेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले सहमहामन्त्री बनाउने आश्वासन दिएपछि उनले आफ्नो दलबलसहित राप्रपा परित्याग गरेको घोषणा गरिसकेका छन् ।

सुनिल थापासँगै, काँग्रेस प्रवेश गर्ने मध्येका पूर्वगृहराज्य मन्त्री विष्णुविक्रम थापा र बाबुराम बस्नेतलाई केन्द्रीय सदस्य बनाइने छ भने अरु तीनजनालाई आमन्त्रित केन्द्रीय सदस्य मनोनित गर्ने काँग्रेसले तयारी गरेको छ । थापासहितका नेतालाई काँग्रेस प्रवेश गराउन उपसभापति विमलेन्द्र निधिले पहल गरेका थिए । थापा राप्रपा एकताको घोषणा सभामा पनि सहभागी नभई त्यहीबेलादेखि राप्रपासँग असन्तुष्ट रहँदै आएका थिए ।