यस्ता व्यवसायीले मात्र पाउँछन् ५ प्रतिशत ब्याजदरमा पुनर्कर्जा

सफल खबर संवाददाता

शुक्रबार, ०९ साउन २०७७, १३ : ४६
यस्ता व्यवसायीले मात्र पाउँछन् ५ प्रतिशत ब्याजदरमा पुनर्कर्जा

काठमाडौँ । कस्ता व्यवसायीले पाउँछन् त पुनर्कर्जाको सुविधा ? पहिलो त यस्तो पुनर्कर्जा लिने व्यवसाय कोरोनाबाट प्रभावित हुनुपर्छ । वैदेशिक रोजगारीबाट फर्केका उद्यमीले पाउँछन् यस्तो कर्जा । अथवा कृषि उत्पादन तथा प्रशोधन, पशुपंछी पालन, ह्याचरी, मत्स्यपालन जस्ता कृषि उद्यमी हुनुपर्छ । 

कृषि औजार तथा यन्त्र उत्पादन तथा बिक्रीवितरण गर्ने व्यवसायीले पनि यस्तो कर्जा पाउँछन् । सञ्चालनमा रहेका निर्यातजन्य उद्योग, व्यवसायी, न्यून आय भएका महिला, आदिवासी, जनजाती, मधेशी, दलित, फरक ढङ्गबाट सक्षम व्यक्तिले सञ्चालन गरेको उद्यम व्यवसायी, रुग्ण उद्योग तथा प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रका व्यवसायले यस्तो कर्जा पाउँछन् । 
यो कर्जाको ब्याजदर सस्तो हुन्छ। एकमुष्ट रुपमा प्रदान गरिने यस्तो कर्जा ऋणीले बढीमा १ वर्षसम्म प्रयोग गर्न सक्नेछन्।राष्ट्र बैंकले लघु, घरेलु तथा साना उद्यमीलाई प्रतिग्राहक १५ लाख रुपैयाँसम्म र मध्यम तथा विशेष उद्यमीलाई साधारण पुनरकर्जा ५ करोड रुपैयाँसम्म बैंक तथा वित्तीय संस्थाहरुमार्फत प्रदान गर्न लागेको छ । 

साधारण पुनरकर्जाका जलविद्युत परियोजना, कृषि क्षेत्र, पशुपंक्षी तथा मत्स्यपालन व्यवसाय, विदेशमा रोजगारी वा अध्ययन गरी फर्केका युवाहरूले सञ्चालन गरेका उद्योग–व्यवसायले पाउँछन् । उत्पादनमूलक उद्योग, पर्यटन उद्योग, निर्माण उद्योग, शिक्षा, स्वास्थ्य, संचार, मनोरञ्जन, हवाई उड्डयन, सार्वजानिक यातायात, औषधि उद्योग, डायग्नोष्टिक सेन्टर, स्वास्थ्य शिक्षण संस्था, अस्पताल, फोहरमैला प्रशोधनसँग सम्बन्धित उद्योगहरुले पाउनेछन् । 

पर्यटकीय सम्भावना रहेका तर तुलनात्मक रुपमा विकास हुन नसकेका पर्यटकीय गन्तव्य पाथिभरा, माइपोखरी, भिमेश्वर, कालिञ्चोक, हलेसी, लाङटाङ, स्वर्गद्वारी, मनकामना, मुक्तिनाथ, माथिल्लो मुस्ताङ, महागढीमाई, जनकपुरधाम, धनुषधाम, छिन्नमस्ता, पाँच पोखरी, रारा तथा खप्तड लगायतका क्षेत्रमा पर्यटकीय पुर्वाधार स्थापना गर्ने व्यवसायीहरुले पनि पाउँछन् । 

कोभिड–१९ लगायत संक्रामक रोगजन्य महामारीको कारण पूर्णक्षमतामा सञ्चालन हुन नसकेका तर, भविष्यमा सञ्चालनको सम्भावना रहेका उद्यमी व्यवसायीले यस्तो लोन पाउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकबाटै रकम लिएर सो रकम तोकिएबमोजिमका व्यवसायीलाई दिन्छन्। यस्तो कर्जा दिएवापत बैंक तथा वित्तीय संस्थाहरुले ऋणीबाट बढीमा वार्षिक ५ प्रतिशतसम्म ब्याज लिन पाउँछन्।

पुनरकर्जाको प्रकारअनुसार ब्याजदर फरक फरक छ।  लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जा लिनेले ५ प्रतिशत ब्याज बुझाउनुपर्छ। यसमा बैंकहरुबाट राष्ट्र बैंकले २ प्रतिशत ब्याज लिन्छ, ३ प्रतिशत ब्याज बैंकहरुकै आम्दानी हो। १ कुनै उद्यमको लागि नभई व्यक्तिगत प्रयोजनका लागि ओभरड्राफ्ट, घर जग्गा कर्जा, सवारी, घरायसी सामग्री, मार्जिन कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि यस्तो कर्जा दिइने छैन । 

तर, व्यक्तिगत नाममा कर्जा लिई ट्याक्सी चलाउने, विद्युतीय टेम्पो चलाउने जस्ता स्वरोजगार मुलक कार्य गरी आय आर्जन गरेको विषयमा इजाजतपत्रप्राप्त संस्था आश्वस्त भएमा त्यस्तो कर्जा अयोग्य मानिने छैन।

प्रतिक्रिया दिनुहोस