लकडाउन खुलेपछि सामान्य बन्दै राजधानीको जनजीवन

सफल खबर संवाददाता

बुधबार, ०७ साउन २०७७, १४ : ४०
लकडाउन खुलेपछि सामान्य बन्दै राजधानीको जनजीवन

काठमाडौँ । चार महिना लामो लकडाउन खुलेसँगै राजधानी काठमाडौँमा जनजीवन सामान्य बन्न थालेको छ । बुधबार सडकमा पर्याप्त सवारी गुडेका छन् भने मानिसहरु काममा फर्कन थालेका छन् ।

गत चैत ११ गतेदेखि लागू गरिएको बन्दाबन्दी (लकडाउन) बुधबारबाट औपचारिकरुपमा अन्त्य भएको छ । योसँगै लकडाउनमा लागू गरिएका धेरै प्रतिबन्धहरु खुकुलो भएका छन् । केही क्षेत्रहरुमा भने प्रतिबन्ध कायम नै रहेका छन् । 

झण्डै चार महिनाको लकडाउन गए रातिदेखि अन्त्य भएसँगै बुधबार काठमाडौंका सडकमा सवारी साधनको जाम भयो । बुधबार बिहानैदेखि काठमाडौंका सडकमा निजी तथा भाडाका सवारी साधनको चाप देखियो ।चोकहरूमा सवारी साधनको जाम लागेको थियो । सार्वजनिक बसमा यात्रा गर्ने यात्रुले मास्क लगाएका थिए भने सडकमा पनि बटुवाहरूको आउजाउ बाक्लो देखियो ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएको लकडाउन झण्डै चार महिनापछि खुलेसँगै काठमाडौँ उपत्यकासहितका क्षेत्रमा छोटो दूरीका सवारी साधान निर्वाध रुपमा चलेका छन् । लकडाउन खुलेसँगै सवारी साधानमा लागु भएको जोर–बिजोर प्रणाली अन्त्य भएको छ । बुधबार काठमाडौँ उपत्यका सवारी चाप अत्याधिक देखिएको छ ।

लामो जाम सुरु

बुधबार बिहानदेखि काठमाडौं उपत्यकामा सवारी साधनहरुको लामो जाम सुरु भएको छ । लकडाउन अवधिभर काठमाडौंका सडक खुला र शान्त थिए । ट्राफिक प्रहरीहरु पनि फुर्सदिला देखिन्थे । मंगलबार मध्यरातिदेखि सरकारले लकडाउन अन्त्यको घोषणा गरेपछि काठमाडौं सवारी जाम, भिडभाडको पुरानै परिचयमा फर्किएको छ ।

त्यसो त सरकारले लकडाउन खुकुलो बनाएदेखि नै काठमाडौंका सडकमा सवारी साधनहरु बढी नै देखिन्थे । भिडभाड बढेपछि सरकारले सवारी साधनमा जोरबिजोर प्रणाली लागु गरेको थियो । तर मंगलबार मध्यरातिदेखि लकडाउन पनि अन्त्य र जोरबिजोर पनि खारेज भएपछि सडकमा सवारी साधनको लामो ताँती देखिएको छ ।

ट्राफिक व्यवस्थापनका लागि बुधबारदेखि सामान्य अवस्थामा जस्तै ट्राफिक प्रहरी खटिन थालेका छन् । यस्तै लेन अनुशासन र मापसे जाँच पनि सुरु भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यातायात सञ्चालनमा लगाइएका अधिकांश प्रतिबन्धहरु हटाइएका छन् । योसँगै धेरै सार्वजनिक यातायातहरु सञ्चालनमा आएका छन् । सरकारसँगको वार्तापछि यातायात व्यवसायीहरुले बिहीबारबाट पूर्णरुपमा सार्वजनिक यातायातहरु सञ्चालनमा आउने भएका छन् । 

लकडाउन अन्त्य भएसँगै बिस्तारै जनजीवन सामान्यतर्फ अघि बढ्दैछ । तर, संक्रमणको जोखिम कायम नै रहेकाले मानिसहरु अझै पनि सतर्क रहेका छन् ।

प्रतिक्रिया दिनुहोस