चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सोमबार वडा नम्बर २५ मा बोटे समुदायलाई घर हस्तान्तरण गर्नुभएको छ । प्रमुख दाहालले आज सोमबार यहाँको बोटे टोलमा रहेका अति सिमान्तकृत समुदायका लागि निर्माण गरिएको १० वटा घर हस्तान्तरण गर्नुभएको हो ।
महानगर प्रमुख दाहालले जनता आवास कार्यक्रम अन्तरगत संघ र भरतपुर महानगरपालिकाको ६१ लाख ९५ हजार रुपैयाँको लागतमा निर्माण गरिएको १० वटा भवन त्यहाँका बोटे समुदायका १० परिवारलाई हस्तान्तरण गर्नुभयो । सिमान्तकृत बोटे समुदायलाई घर हस्तान्तरण गर्दै प्रमुख दाहालले घर नभएकाहरुलाई महानगरपालिकाले जनता आवास कार्यक्रम अन्तरगत घर निर्माण गर्दै जाने बताउनुभयो । जनता आवासको कार्यक्रमलाई आगामी वर्षमा समेत निरन्तरता दिइने प्रमुख दाहालको भनाइ छ ।
महानगरपालिकाले संघीय सरकारसँग सहकार्य गर्दै महानगर क्षेत्रभित्रबाट खरको छानो हटाउने अभियान समेत सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । नगर प्रमुख दाहालले खरको छानो हटाएर सो घरमा जस्ताको छाना लगाउने काम भइरहेको समेत जानकारी दिनुभयो ।
प्रमुख दाहालले वडा नम्बर १३ उज्ज्वलनगरमा १० घर दराई परिवारको घर समेत निर्माण भइरहेको बताउँदै आगामी आर्थिक वर्षमा संघीय सरकारसँगको सहकार्यमा महानगरको अन्य वडाहरुमा चार सय भन्दा बढी जनता आवास निर्माण गर्नेगरी काम अगाडि बढिरहेको बताउनुभयो ।
शुक्रनगर स्वास्थ्य चौकीको शिलान्यास
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शुक्रनगर स्वास्थ्य चौकी भवनको शिलान्यास गर्नुभएको छ । सोमबार नै महानगर प्रमुख दाहालले भरतपुर महानगरपालिका वडा नम्बर २५ शुक्रनगरमा स्वास्थ्य चौकी भवन (एचपी टु टाइप)को शिलान्यास गर्नुभएको हो ।
भवन शिलान्यासका क्रममा प्रमुख दाहालले भरतपुर महानगरपालिका भित्र ठूला र रणनीतिक महत्वका आयोजनाहरु द्रूत गतिका साथ अगाडि बढिरहेकोमा जोड दिँदै विकासमा सबैको साझेदारी र अपनत्व हुनुपर्ने बताउनुभएको छ । चार सय वर्ग मिटर क्षेत्रफलमा निर्माण हुने दुई तले भवनमा अत्याधुनिक सुविधाहरु समेत रहनेछन् । सो भवन आगामी मंसिरभित्र सम्पन्न गर्नेगरि ७८ लाख ६२ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनीयर रत्न लामिछानेले जानकारी दिनुभयो ।
त्यस्तै, महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका वडा नम्बर २५ मा रहेको जनज्योति माध्यमिक विद्यालयको चार कोठे भवन तथा विज्ञान प्रयोगशाला भवनको शिलान्यास गर्नुभएको छ । सोमबार शिलान्यास भएको सो भवन भरतपुर महानगरपालिका, डीएलपीआई र प्रदेश सरकारको ९४ लाख रुपैयाँ लगानीमा सम्पन्न हुनेछ ।
सो भवन शिलान्यास गर्दै महानगर प्रमुख दाहालले विकासमा पछाडि परेको वडा नम्बर २५ लाई आफूले प्राथमिकतामा राखी ठूला आयोजनाहरु सञ्चालन गरेको बताउनुभयो । वडा नम्बर २५ मा सहरीविकास मन्त्रालयको बजेटबाट प्रचण्ड मार्ग, लिङ्क रोडको काम सम्पन्न हुने चरणमा रहेको समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ असार २०७७, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरको ६ लेन सडक निर्माण अन्तिम चरणमा (तस्बिरहरू)
भरतपुर महानगरपालिमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न
हरियाली प्रवर्द्धनका लागि बिरुवा उत्पादन गर्दै भरतपुर महानगरपालिका
तीन महिनादेखि विषादी परीक्षण बन्द
भरतपुरमा मापदन्ड बिपरितका संरचना घरधनी आफैले भत्काउन थाले
स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष