बानेश्वरमा माधव नेपालसँग विष्णु पौडेलले किन गरे चार घण्टा गोप्य भेट ?

माधव नेपालका सम्धी सांसद सोमप्रसाद पाण्डेको निवास वानेश्वरमा नेपाल र पौडेलबीच चार घण्टाको छलफल निक्कै अर्थपूर्ण रहेको अनुमान नेकपा वृतमा हुन थालेको छ

सफल खबर संवाददाता

आइतबार, २८ असार २०७७, ०९ : ३०
बानेश्वरमा माधव नेपालसँग विष्णु पौडेलले किन गरे चार घण्टा गोप्य भेट ?

काठमाडौं । सत्तारुढ दल नेकपाका दुई अध्यक्षको पछिल्लो सम्बोधनले के नेकपा भित्रको संर्घषमा तत्काललाई युद्धविराम लागेको हो ? अथवा २ साउनबाट शुरु हुने बैठकमा फेरि प्रधानमन्त्री केपी ओलीको राजीनामाको विषय मुखरित होलान् ? अहिले नेकपाका नेता कार्यकर्ता नै यो प्रश्नमा अनुत्तरित छन् । 

तर, प्रधानमन्त्री ओलीले देशबासीका नाममा शुक्रबार गरेको सम्बोधनमा अहिले उठेका राजनीतिक प्रश्न पार्टीको आन्तरिक विषय र यसको समाधान आन्तरिक सम्वाद र सहमतिकै आधारमा खोजीने बताउनु र अर्का अध्यक्ष प्रचण्डले गृहजिल्ला चितवन पुगेर आफुले हतार गरेको भए दुर्घटना हुन सक्ने भन्दै हतारमा निर्णय गरेर फूर्सदमा पछुताउने तिर आफुहरु नरहेको बताएबाट पार्टीभित्रको अन्तरसंर्घष टुंग्याउने सूत्र नेताद्धयले फेला पारिसकेको अनुमान लगाइदैछ । 

दुई अध्यक्षको सहमति भलै भयो ल, तर यसमा वरिष्ठ नेता माधव नेपाल पक्षको टिप्पणी पनि उस्तै हुन्छ या हुदैन? यो प्रश्न पनि उठेको छ । ओली पक्षका नेताहरुको कुरो सुन्ने हो भने कुरा मिलिसकेको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबैबाट राजीनामा नदिइकनै समस्या समाधान निस्कन्छ । तर प्रचण्ड र माधव नेपाल निकट नेताहरुले कुनै टिप्पणी यसमा गरिसकेका छैनन् । तर यति भनेका छन्, अब नेकपाको विभाजन टर्यो ।  पार्टी विभाजन अब कसैले पनि गर्दैनन्, त्यो खतरा चाही अहिलेलाई टरेको छ, प्रचण्ड निकट एक स्थायी समिति सदस्यले सफलखबरसँग भने, तर अन्य विषयहरुमा अझै छलफलकै क्रममा रहेकोले समस्या समाधानको सूत्र नै भने टुंगो लगाईसकिएको छैन् ।

प्रचण्ड हिजो शनिबार प्रधानमन्त्री ओलीसँगको छलफल छोडेर बाढी पहिरो प्रभावित चितवनका स्थानियहरुसँगको प्रत्यक्ष भेटघाटका लागि चितवन पुगेका थिए । उनले माडी लगायतका क्षेत्रको स्थलगत अध्ययन पनि गरे । उनी आज साँझ मात्रै काठमाडौं फर्किने र सोमबार मात्रै प्रधानमन्त्री ओलीसँग सम्वादमा बस्ने पनि ति स्थायी समिति सदस्यले बताए । 

तर यही बीच ओली पक्षका नेताहरुले भने वरिष्ठ नेता माधव नेपाल पक्षलाई पनि फकाउने रणनीति बनाएको छ । वरिष्ठ नेता नेपाललाई ओली पक्षले महाससचिव विष्णु पौडेललाई परिचालन गरेर छलफल बाक्लो बनाएको छ । महासचिव पौडेलले हिजो मात्रै पनि नेपालका सम्धी सोमप्रसाद पाण्डेको बानेश्वरस्थित घरमा नेपालसँग गोप्य छलफल गरेका छन् । 

छलफल किन पाण्डेको घरमा गोप्य रुपमा गरे ? त्यसको दुवै पक्षले केही बताएका छैनन् । तर पौडेल नेपाललाई भेट्न साँझ ४ बजे पाण्डेको निवासमा पुगेका थिए । उनले त्यहाँ नेपालसँग झण्डै ४ घण्टा छलफल गरेर बाहिरिएका थिए । पौडेल अहिले पार्टीभित्रको विवाद मिलाउन र ओलीलाई प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट जोगाउनका लागि निक्कै कम्मर कसेर लागेका छन् । सहमतिको सूत्रको नाममा माओवादी धारका नेता तथा स्थायी समिति सदस्य जर्नादन शर्मा प्रभाकरसँग पनि मिलेर अनेक उपाय अवलम्वन गरिरहेका छन् ।

त्यही क्रममा उनले वरिष्ठ नेता नेपालसँग पाण्डेको निवासमा झण्डै चार घण्टा गोप्य वार्ता गरेका हुन् ।  माधव नेपालको सचिवालयले भने भेटबारे कुनै प्रतिक्रिया दिन मानेन् । नेताहरुका बीचमा भेटघाट हुनु स्वभाविक हो, तर त्यसरी भेट भएको होइन होला, नेपालको सचिवालयले भन्यो ।

नेता पाण्डेले भने नेताहरु काम विशेषले बाटो पर्दा आफ्नो निवासमा बेला बेला छिर्ने भएकोले शनिबार पनि पसेर छलफल गरेको हुन सक्ने मात्र टिप्पणी गरे । तर उनले आफु घर बाहिर रहेकोले पनि जानकारी हुन नसकेको बताए । तर नेपालसँग पौडेलले गरेको यो गोप्य भेटवार्तालाई कतिपय नेताहरुले माधव नेपाल फकाउने रणनीति अन्र्तगतको छलफल भएको हुन सक्ने अनुमान लगाएका छन् । 
 

प्रतिक्रिया दिनुहोस