चितवन विषेश

वैद्य र विप्लवको चितवनबाट कार्यगत एकता

बुधबार, १६ फागुन २०७४, १२ : ३१
वैद्य र विप्लवको चितवनबाट कार्यगत एकता

भरतपुर: मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चितवनबाटै कार्यगत एकता सुरु भएको छ । मंगलबार यी दुइ पार्टीबीच भएको बैठकले कार्यगत एकता गर्ने निर्णय गरेको हो ।
पार्टी जिल्ला नेतृत्वबीच भएको बैठकले कार्यगत एकतासँगै चार बुँदे निर्णय गरेको छ । पहिलो निर्णयमै दुवै पार्टीबीच केन्द्रीय स्तरमा जारी सहकार्यलाई जिल्ला स्तरमा निरन्तरता दिन दुवै पार्टी सक्रियता पूर्वक सहभागि हुने उल्लेख गरेका छन् । यस्तै यही फागुन १४ देखि २१ गतेसम्मको शहिद सप्ताह संयुक्त रुपमा मनाउने निर्णय गरिएको नेकपा (क्रान्तिकारी माओवादी) चितवनकी इन्चार्ज अम्बिका मुडभरीले जानकारी दिइन् । शहिद सप्ताह अन्तरगत दुवै पार्टीको संयुक्त आयोजनामा फागुन १९ गते जनयुद्धको प्रक्रियामा भएको बलिदानी र आजको सन्दर्भ विषयमा अन्तरक्रियासहित शहिद परिवारबीच भेटघाट कार्यक्रम गर्ने निर्णय गरिएको मुडभरीले जानकारी दिइन् ।
सहमतीको तेस्रो बुँदामा राष्ट्रियता, जनतन्त्र र जनजिविकाको विषयमा आगामि दिनमा सहकार्य गर्दै संयुक्त आन्दोलन गर्ने निर्णय गरेको छ । अन्तिम बुँदामा देशव्यापीरुपमा राजनैतिक नेता तथा कार्यकर्तामाथि राज्यको तर्फबाट भएको धरपक्कड ज्यादती प्रति खेद प्रकट गर्दै आगामि दिनमा संयुक्त रुपमा भण्डाफोर गर्ने निर्णय गरिएको उल्लेख छ । बैठकपछि जारी विज्ञप्तीमा नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का तर्फबाट इन्चार्ज अम्बिका मुडभरी र नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट इन्चार्ज लालबहादुर बिसीले हस्ताक्षर गरेका छन् । बैठकमा नेकपा (क्रान्तिकारी माओवादी)का तर्फबाट मुडभरीसंगै अशोक शर्मा, बिपिन शर्मा र अमृत चापागाई सहभागि थिए भने नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट केन्द्रीय सदस्य आधार, लालबहादुर बिसी, ध्रुर्ब लगातको सहभागिता रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस