नेकपा विवाद मिलाउन ओली र प्रचण्ड बिच आज निर्णायक छलफल

ओली दाहाल भेटवार्ता हुँदै, दोश्रो तहका नेताहरु बिच पनि बाक्लै भेटघाट

सफल खबर संवाददाता

शुक्रबार, १९ असार २०७७, ०८ : ५७
नेकपा विवाद मिलाउन ओली र प्रचण्ड बिच आज निर्णायक छलफल

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको हठका कारण सत्तारुढ दल नेकपा पार्टी एकताको २६ महिनामै गम्भिर विभाजनको मोडमा पुगेको छ । पार्टी र सरकार दुवै मोर्चामा बसेर स्वेच्छाचारिता प्रर्दशन गर्दै आईरहेका प्रधानमन्त्री ओलीको कार्यशैलीका विरुद्ध नेकपाका अर्का अध्यक्ष प्रचण्डसहितका अन्य शीर्ष नेताहरु एकगठ भएपछि ओली पार्टीमा अल्पमतमा परेका छन् । 

उनको कार्यशैली, अभिब्यक्ति र गलत हर्कतका कारण नेकपा गम्भिर संकटमा धकेलिएको छ । उनको त्हयी गलत संस्कृतिवाट पार्टी र सरकारलाई बचाउने उद्येश्यले नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा (बादल) लगायतका नेताहरु एकजुट छन् । 

ओलीलाई उनीहरुले सरकार र पार्टी अध्यक्ष दुवैबाट राजीनामा दिन आग्रह गरिरहेका छन् । यसको अर्थ यही जारी स्थायी समिति बैठकबाट ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पदबाट जसरी पनि राजीनामा गराउने योजनामा देखिन्छन् । पार्टीमा आईलागेको यो अप्ठयारोका बीचमा प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा नदिने भन्दै बैठक समेत छल्दै आईरहेका छन् । प्रधानमन्त्री निवासमै बस्ने बैठकमा समेत उनी सहभागी हुन छोडेका छन् । 

ओलीले आफुलाई हटाउन झम्सिखेल भेलामा स्थायी समितिका ४४ सदस्य मध्ये ३० सदस्य एकगठ भई भेला भएपछि संसदको अधिवेशन अन्त्य गर्ने निर्णय आपतकालिन मन्त्रिपरिषद्को बैठक बोलाएर गराएका छन् । यसले पार्टीमा विवाद झन चर्किएको छ । विवाद वढदै गएपछि नेकपामा गम्भिर संकट आएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नै स्वीकार गरेका छन् । ओलीको हठका कारण पार्टी संकटमा परेसँगै र विभाजन उन्मुख भएपछि अध्यक्ष प्रचण्डले पार्टी एकता बचाउनका लागि अन्तिम प्रयास गर्ने बिहिबारको स्थायी समिति बैठकलाई जानकारी गराएका थिए  । 

त्यसैका लागि अध्यक्ष दाहालले आज एक दिनको लागि पार्टी स्थायी समिति बैठक रोकेर भोलि मात्र स्थायी समिति बैठक बोलाएका छन् । उनले आज प्रधानमन्त्री ओलीसँग निर्णायक छलफल गर्ने तयारी गरेका छन् । सोही अनुसार आज ओली प्रचण्ड सम्वाद हुदैंछ । ओलीको राजीनामा नदिने अडान र ओलीलाई कम्तीमा दुई मध्ये एक पदबाट राजीनामा गराई छोडने योजनामा रहेका नेताहरु बीचको मिलन विन्दुको खोजीमा निर्णयक छलफल हुन लागेको हो । पार्टीमा देखा परेको संकटका बारेमा अध्यक्ष प्रचण्डले स्थायी समितिको बिहीबारको बैठकमा भनेका थिए, यो स्थायी समितिले पार्टी एकता पनि घोषणा गर्न सक्छ ।

यही स्थायी समितिलै पार्टी फुटको प्लेटफर्म निर्माण गर्न पनि सक्छ । अब कुन वाटो रोज्ने हाम्रा लागि गम्भिर विषय आईलागेको छ । हामीले पार्टी एकतालाई जोगाइराख्न सक्दो प्रयास गर्नुपर्छ, पार्टी एकता जोगाइराख्न पर्छ । अब जे पनि निर्णय हुनसक्छ, त्यसका लागि तयार भएर बसौँ । उनले अन्तिम पटक पार्टी एकताका लागि आफै प्रधानमन्त्रीसँग बसेर पहल गर्ने बताएपछि ओलीसँग प्रचण्डको भेटवार्ता हुन लागेको हो । 

विवाद समाधानको उपाय के हुन सक्छ भन्ने खोजीमा र पार्टी एकता जोगाउनका लागि दोश्रो तहका प्रभावशाली नेताहरुको पनि दौडधुप निक्कै बाक्लिएको छ । हिजैं साँझ शनिबार सम्मलाई स्थायी समिति बैठक स्थगित भएपछि ओली र प्रचण्ड नेपाल पक्षका दोश्रो तहका नेताहरु पनि गम्भिर सम्वादमा जुटेका छन् ।  उनीहरुले हिजो राती पनि विभिन्न नेताहरुसँग गम्भिर छलफल गरेका हुन् । आज दुई अध्यक्ष र सहयोगी नेताहरुका बीचमा हुने छलफलले निकाल्ने निश्र्कषले नै नेकपाको एकता जोगाउने वा टुटाउने भन्ने निर्णयतिर नेकपालाई लैजाने देखिएको छ ।

प्रवक्ता श्रेष्ठले पनि पार्टी एकताको अन्तिम पहलका लागि आज दिनभर नेकपाका नेता कार्यकर्ताहरु कसले कुन तहमा सक्छ पहलकदमी लिने बताएका छन् ।  श्रेष्ठले पार्टी विभाजन गर्ने काम स्वीकार्य नहुने भन्दै समाजिक सन्जालमा लेखेका छन्,–२००६ सालमा नेकपाको स्थापना भए जत्तिकै ऐतिहासिक महत्वको महान् कार्य हो हाम्रो पार्टी एकता र आजको एकीकृत नेकपाको गठन ।

अतः प्रतिकृयावादी शक्तिको चाहना पूरा गर्ने गरी पार्टी बिभाजन गर्ने, पुँजीवादी पार्टीको रुपमा बदल्ने वा पार्टीको बिघटन वा बिसर्जन गर्ने कार्य स्विकार्य हुनै सक्तैन । कमरेडहरु हो ! यस संकटको घडीमा पार्टी एकताको रक्षा र क्रान्तिकारी रुपान्तरणको निम्ति आ–आफ्नो ठाँउबाट भुमिका खेलौं । देश र जनतालाई धोखा दिने कार्य नगरौं र कसैलाई गर्न नदिऔं ।’
 

प्रतिक्रिया दिनुहोस