एजेन्सी । चीनको एउटा ठूलो ज्वेलरी कम्पनीले कूल सुन भण्डारणको करिब ४ प्रतिशत अर्थात ८३ टन सुन नक्कली राखेको खुलासा भएको छ ।
वुहानमा मुख्यालय रहेको चीनको ठूलो ज्वेलरी कम्पनीले यो घोटाला गरेको पाइएको हो । बुल्गेरियामा मुख्यालय रहेको आर्थिक वेबसाइट जीरो हेजका अनुसार चीनको किंगोल्ड नामको कम्पनीले यति ठूलो घोटाला गरेको हो । यो घोटाला विगत ५ वर्षमा गरिएको हो ।
पूरै विश्वमा सबैभन्दा ठूलो गोल्ड रिजर्भ अमेरिकासँग छ । अमेरिकासँग ८ हजार १३४ टन सुन छ । दोस्रो स्थानमा जर्मनीसँग ३ हजार ३६४ टन र तेस्रो स्थानको इटलीसँग २ हजार ४५२ टन सुन छ । १९४८ दशमलव ३० टन सुन भएको चीन छैटौं स्थानमा छ ।
किंगोल्डले विगत ५ वर्षको अवधिमा चीनका १४ फाइनान्सियल कम्पनी (श्याडो बैंक) बाट २ दशमलव ८ बिलियन डलर (३ खर्ब ३७ अर्ब ९० करोड नेपाली रुपैयाँ) ऋण लिएको थियो । यो ऋण लिनको लागि कम्पनीले ८३ टन गोल्ड बार (सुनका बिस्कुट) धितोको रुपमा राखेको थियो ।
धितोको रुपमा राखिएको यो सुन नक्कली भएको पाइएको छ । ती गोल्डबार सुनका नभइ तामाका थिए र सुनको जलप लगाइएको थियो । यसलाई चीनको सबैभन्दा ठूलो सुनको घोटाला मानिएको छ ।
किंगोल्ड ज्वेलरी कम्पनी न्यूयोर्कको नेस्डेक स्टक एक्सचेन्जमा सूचीकृत छ । यो सुनको कारोबार गर्ने विश्वकै सबैभन्दा ठूलो निजी कम्पनी हो । यसको मार्केट क्याप १० मिलियन डलर छ । कम्पनीका मालिक पूर्वसैन्य अफिसर जिया झिहोंग हुन् ।
किंगोल्डले १६ बिलियन युआन ऋणको लागि सुरक्षा र बीमा प्रयोजनका लागि ८३ टन गोल्ड बार जमानतको रुपमा बैंकको रिजर्भमा राखेको थियो । ती गोल्डबार सुनको जलप लगाइएका तामा भएको पाइएको छ ।
अब यो ऋण कम्पनीको ३० बिलियन युआनको सम्पत्तिबाट असुलिनेछ । असुलीको काम चीनको बीमा कम्पनी पीआइसीसी प्रोपर्टी एण्ड क्याजुअल्टी कोअपरेटिभ लिमिटेडले गर्नेछ । साथमा अन्य साना बिमा कम्पनी पनि यो काममा लाग्नेछन् ।
यो घोटालाको खुलासा गएको फेब्रुअरीमा भएको थियो जतिबेला किंगोल्डले डोंगगुआन ट्रस्ट कोअपरेटिभ लिमिटेडलाई तिर्नुपर्ने ऋण तिरेन । किंगोल्डले ऋण नतिरेपछि डोंगगुआन ट्रस्टले किंगोल्डले जमानतको रुपमा राखेको गोल्ड बार निकाल्यो । जाँचमा त्यो सुन नभइ तामा भएको खुलासा भयो ।
यो खुलासासँगै किंगोल्डलाई ऋण दिएका अन्य वित्तिय कम्पनीहरुमा हल्लाखल्ला भयो । यही क्रममा किंगोल्डलाई सबैभन्दा धेरै ऋण दिएको वित्तिय कम्पनी चाइना मिनशेंग ट्रस्ट अदालत पुग्यो र उसले अदालतबाट किंगोल्डले जमानतको रुपमा राखेका गोल्डबारको जाँच गराउने आदेश पास गरायो ।
जाँचपछि २२ मेमा मिनशेंगको रिजर्भमा जमानतको रुपमा राखिएका गोल्डबार पनि तामाका भएको खुलासा भयो ।
किंगोल्डका मालिक जिया झिहोंगले भने घोटालाको आरोप अस्वीकार गरेका छन् । उनले आफ्नो कम्पनीले कहीँ पनि नक्कली गोल्डबार जमानतमा नराखेको दावी गरेका छन् । उनले आफ्नो कम्पनीले कहीँ पनि नक्कली गोल्डबार आफूसँग पनि नराखेको दावी गरेका छन् ।
किंगोल्ड कम्पनी २००२ मा स्थापना भएको हो । त्यतिबेला यो सुनको फ्याक्ट्रीको रुपमा स्थापना भएको थियो । यो फ्याक्ट्रीले पिपुल्स बैंक अफ चाइनाबाट अनुमति पाएको थियो । पछि यो कम्पनी न्यूयोर्कको नेस्डेक स्टक एक्सचेन्जमा सूचीकृत भयो । तर, अब घोटालाको खुलासापछि यो कम्पनीको नाम खराब भएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १७ असार २०७७, १७ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृत्रिम टापुमा संसारको सबैभन्दा ठूलो एयरपोर्ट बनाउँदै चीन
नेपाल-चीन पर्यटन प्रवर्द्धनको प्रयास
चीनले ५ अर्ब ६० करोड अनुदान दिने
नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर
चीनले गर्यो प्रधानमन्त्री ओली भ्रमणको औपचारिक घोषणा
परराष्ट्र मन्त्री राणा चीन प्रस्थान