ब्राजिलमा एक दिनमै थपिए ३५ हजार कोरोना संक्रमित

एजेन्सी

बुधबार, ०३ असार २०७७, ११ : ०९
ब्राजिलमा एक दिनमै थपिए ३५ हजार कोरोना संक्रमित

एजेन्सी । दक्षिण अमेरिकी देश ब्राजिलमा मंगलबार एकै दिन ३४ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको हो । अमेरिकाको अन्य स्थानमा संक्रमणको जोखिम केही कम भएपछि ब्राजिलमा झनै तिब्र बनेको छ । 

मंगलबार थपिएको संक्रमण अहिलेसम्म एकै दिन नयाँ संक्रमित थपिएको अहिलेसम्मकै धेरै हो । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार ब्राजिलमा कुल संक्रमितको संख्या ९ लाख २३ हजार भन्दा बढी भएको छ । हालसम्म ४५ हजार २४१ जनाको ज्यान गएको छ ।

अमेरिकापछि संक्रमित र मृत्यु हुनेको संख्या बढी हुने देश ब्राजिल हो । सरकारी अधिकारीले संक्रमण नियन्त्रणमा रहेको दाबी गरे पनि लगातार बढ्दो क्रममा छ । ब्राजिलमा मंगलबार एकै दिन १२ सय ८२ जनाको कोभिड–१९ बाट ज्यान गएको छ । विश्वभर हालसम्म ८१ लाख ५५ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

त्यसमध्ये चार लाख ४१ हजार ५०५ जनाको ज्यान गएको छ । सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा २१ लाख ३७ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएकोमा एक लाख १६ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ ।