सौराहा अवलोकन गर्न रोटरी क्लब टावर

रासस

मंगलबार, २७ जेठ २०७७, १६ : ५०
सौराहा अवलोकन गर्न रोटरी क्लब टावर

चितवन । पर्यटकीय नगर सौराहामा रोटरी क्लब अफ रत्ननगरले निर्माण गरेको रोटरी क्लब टावर रत्ननगर नगरपालिकामार्फत वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ । क्लबका अध्यक्ष विपिन पोखरेलले नगरप्रमुख नारायण वनमार्फत वडा नं ७ का अध्यक्ष लालबहादुर भट्टलाई सो टावर सोमबार हस्तास्तरण गर्नुभएको हो ।

सो अवसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, नगरप्रमुख वन, क्लबका अध्यक्ष पोखरेलसँगै जुम एपबाट रोटरीका ड्रिष्टिक्ट ३२९२ का गभर्नर किरणलाल श्रेष्ठ, पूर्वगभर्नर सञ्जय गिरी, अवार्ड कमिटी चियर नुगल आनन्द वैद्यले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

अध्यक्ष पोखरेलका अनुसार ५० फिट अग्लो टावरमा चढेर सौराहा क्षेत्र अवलोकन गर्न सकिने छ । टावरमा रेलिङ रहेको छ ।  टावरको माथिल्लो भागमा चारैपट्टि नेपालको समय दिने घडी राखिएको छ । सौराहा प्रवेश गर्दैगर्दा जो–कोहीको ध्यान टावरले आकर्षण गर्ने छ ।

सो परियोजनाका प्रमुख जनक पौडेलका अनुसार हालसम्म टावरमा रु ३३ लाख खर्च भइसकेको छ । रेलिङ, रङरोगन, ढोका राख्ने काम र बगैँचा बनाउने काम बाँकी छ । सबै काम सम्पन्न गर्न रु ३५ लाख देखि ४० लाखसम्म खर्च हुने अनुमान छ । जिल्ला समन्वय समिति चितवनले रत्ननगर नगरपालिकामार्फत रु नौ लाख ५२ हजार प्रदान गरेको छ । बाँकी रकम दाता र रोटरियनले सङ्कलन भएको जनाइएको छ । - रासस

प्रतिक्रिया दिनुहोस