एजेन्सी । एकै दिन आठ हजार जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित थपिएको भारतमा अर्को साताबाट लकडाउन केही खुकुलो पारिने भएको छ ।
भारतमा एकै दिन सर्वाधिक धेरै सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकै दिन देशभरि लागु गरिएको लकडाउनलाई थप खुकुलो पार्ने योजना अघि सारिएको हो ।
आगामी जुन ८ तारिखदेखि त्यहाँका कैयौँ क्षेत्रमा रेस्टुराँ, होटल, किनमेल केन्द्र तथा मठमन्दिर खुला गर्ने बताइएको छ । लकडाउन खुकुलो पार्ने तीन चरणको उक्त योजनाको यो पहिलो चरण हुने बताइएको छ ।
कोभिड १९ बाट भारत अहिले दक्षिण एशियामा सर्वाधिक प्रभावित देश हो।
विद्यालय खुल्न सक्ने
सम्भवतः जुलाई महिनामा विद्यालय तथा कलेजहरूमा पठनपाठन सुरु गरिनेछ । तर धेरै सङ्ख्यामा सङ्क्रमितहरू भेटिएका स्थानहरूमा भने लकडाउन कडा नै रहनेछ।
उक्त योजना त्यतिखेर सार्वजनिक भएको छ जतिखेर भारतमा एकै दिनमा ८,००० जनामा नयाँ सङ्क्रमण पुष्टि भएको छ ।
भारतमा हालसम्म पौने दुई लाख मानिसहरूमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ भने करिब ५,००० जनाको ज्यान गइसकेको छ।
सवा अर्बभन्दा धेरै जनसङ्ख्या भएको भारतमा कोरोनाभाइरसको सङ्कट अन्य कैयौँ देशहरूको तुलनामा कम नै भएको पाइएको छ।
केही सयको सङ्ख्यामा सङ्क्रमण भेटिनेबित्तिकै भारतभरि दुई महिनाभन्दा अगाडि कडा लकडाउन लागु गरिएको थियो ।
सरकारी विवरणहरूका अनुसार चाँडै लकडाउन गरिनाले भारतमा ३७ हजारदेखि ७८ हजार जनासम्मको ज्यान जोगिएको छ ।
तर अर्थतन्त्रमा लकडाउनको प्रभाव भने अत्यधिक परेको छ। दशौँ लाख श्रमिकहरूले सहरबाट ग्रामीण क्षेत्रमा रहेका घर फर्किन झेलेको कष्टपूर्ण यात्राका तस्बिरले देशलाई स्तब्ध पारिदिएको छ ।
अधिकांश सङ्क्रमण थोरै राज्यका केही सहरी भेगमा केन्द्रित भएकाले अब लकडाउनलाई धेरै ठाउँमा खुकुलो पार्न सकिने स्वास्थ्य अधिकारीहरूले भनेका छन्।
भारतभरिका सङ्क्रमणका सक्रिय सङ्ख्यामध्ये ८० प्रतिशतभन्दा धेरै जम्मा पाँच राज्यमा रहेको बताइन्छ। महाराष्ट्र, तमिलनाडु, दिल्ली, गुजरात र मध्यप्रदेशमा सर्वाधिक सङ्क्रमित छन् । साठी प्रतिशतभन्दा धेरै सङ्क्रमित मुम्बई, दिल्ली र अहमदाबादसहित पाँचवटा स्थानमा छन् ।
तीन चरणको योजना
लकडाउन खुकुलो पार्ने भारत सरकारको तीन चरणको योजनाअन्तर्गत किनमेल केन्द्र, मठमन्दिर, होटल, रेस्टुराँ तथा अन्य अतिथिसत्कार सेवाका क्षेत्र ८ जुनबाट खुल्नेछन् । सामाजिक दूरी कायम गर्नका निम्ति मापदण्ड ल्याइनेछ ।
राज्यहरूको परामर्शमा स्कूल तथा कलेजहरू सम्भवतः जुलाईमा खुल्नेछन् । लागु हुने मिति नखुलाइएको तेस्रो चरणमा अन्तर्राष्ट्रिय यात्रा, मेट्रो सेवा, सिनेमा खेलकुद तथा व्यायामशाला खोल्न दिइनेछ। तर तत्कालीन अवस्थामा यो निर्भर रहनेछ ।
रात्रिकालीन कर्फ्यू लागु नै रहनेछ तर त्यसको समय साँझ ७ देखि बिहान ७ को सट्टा राति ९ देखि बिहान ५ बजेसम्म कायम हुने गरी छोट्ट्याइनेछ । यी उपायहरू धेरै सङ्क्रमण भेटिएका क्षेत्रहरूका लागि भने लागु हुने छैनन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, १८ जेठ २०७७, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७६औं गणतन्त्र दिवस मनाउँदै भारत, इन्डोनेसियाका राष्ट्रपति प्रमुख अतिथि
भारतमा रेल दुर्घटना, ११ जनाको मृत्यु
भारतमा साँढे जुधाईः सात जनाको मृत्यु, ४०० घाइते
भारतको इन्दौरलाई ‘भिखारी मुक्त’ बनाइँदै, भिक्षा दिनेलाई पनि कारबाही हुने
नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि
भारत र मलेसियाका लागि राजदूत नियुक्त