गुल्मीका कोरोना संक्रमित आइसियूमा रहेका बिरामी, भेन्टिलेटरमा राखेर उपचार हुँदै

सफल खबर संवाददाता

सोमबार, ०५ जेठ २०७७, १८ : ४५
गुल्मीका कोरोना संक्रमित आइसियूमा रहेका बिरामी, भेन्टिलेटरमा राखेर उपचार हुँदै

काठमाडौं । आज सोमबार कोरोना संक्रमण पुष्टि भएका गुल्मीका व्यक्ति रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचाररत विरामी भएको पाइएको छ ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि क्रिमसन अस्पतालमा भर्ना भएका थिए । भर्ना भएको दिनदेखिनै भेन्टिलेटरको सहायतामा आइसियूमा उनको उपचार भइरहको छ ।

क्रिमसनका चिकित्सकहरुले भने एक्यिुट इन्सेफलाइटिस सिन्ड्रोम देखिएको र निमोनिया भएको भन्दै दुई दिन आईसीयूमा राखेर उपचार गरेका थिए ।

स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटर (कृतिम श्वासप्रश्वास) मा राखेर उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ । उनको २ गते थ्रोट स्वाब संकलन गरिएको थियो र भैरहवास्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो ।

४१ वर्षीय उनी सरकारी विद्यालयका शिक्षक रहेको र पछिल्लो समय कहीँ गएको नभए पनि कोरोना संक्रमण देखिएको मदाने गाउँपालिकाका अध्यक्ष दानबहादुर केसीले बताए ।

‘उहाँको ट्राभल हिस्ट्री हेर्दा कतै बाहिर गएको पाइएको छैन, उहाँकै विद्यालयमा क्वारेन्टाइन सञ्चालन गरिएकोले सोही क्वारेन्टाइनबाट पनि संक्रमण भएको हो कि भन्न सकिन्छ’, केसीले भने ।

प्रतिक्रिया दिनुहोस