राष्ट्रपति निर्वाचन २९ गते, २३ गते मनोनयन

विहीबार, १० फागुन २०७४, १८ : १५
राष्ट्रपति निर्वाचन २९ गते, २३ गते मनोनयन

राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको मिति तोकेको हो ।
“आयोगको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा (२) को व्यवस्था बमोजिम यहि फागुन २९ गते राष्ट्रपतिको निर्वाचन गर्ने गरी निर्वाचनको मिति तोकेको हो,” निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले विज्ञप्ति जारी गर्दै भनेका छन्, “बैठकले राष्ट्रपति निर्वाचनको कार्यक्रम समेत तय गरेको छ । उक्त मिति तय गर्नुपूर्व आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री तथा राजनीतिक दलका प्रतिनिधिहरुसँग आवश्यक परामर्श र छलफल गर्नुभएको थियो ।”

२९ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । त्यही दिन ४ बजेबाट मतगणना सुरु हुनेछ । यदि कुनै उम्मेदवारले निर्वाचक मण्डलको कुल सदस्यको बहुमत प्राप्त नगरे फेरि मतदान गराइने आयोगले जनाएको छ ।
निर्वाचन कार्यतालिका  अनुसार फागुन २३ गते मनोनयन दर्ताको समय तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस