१५ दिनभित्र प्रतिवेदन बुझाउन संयुक्त कार्यदललाई निर्देशन, चैत पहिलो साता पार्टी एकता

विहीबार, १० फागुन २०७४, १४ : १४
१५ दिनभित्र  प्रतिवेदन  बुझाउन संयुक्त कार्यदललाई निर्देशन,  चैत पहिलो साता पार्टी एकता

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच १५ दिनभित्र सबै प्रक्रिया पूरा गरेर पार्टी एकताको घोषणा गर्ने अनौपचारिक सहमति भएको छ ।

दुवै कार्यदललाई १५ दिनभित्रै प्रतिवेदन बुझाउने समयसीमा तोकिएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुवै कार्यदलको संयुक्त बैठकले यस्तो निष्कर्ष निकालेको हो ।  दुई अध्यक्षको निर्देशन अनुसार दुबै कार्यदलले आगामी २५ गतेभित्र प्रतिवेदन एकता संयोजन समितिलाई बुझाउने निर्णय भएको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

नेकपा माओवादीकी प्रवक्ता पम्फा भुसालले पनि १५ दिनभित्र दुवै कार्यदलले प्रतिवेदन बुझाउने र पार्टी एकता घोषणा गरिने बताइन् ।
गठनात्मक र विधान मस्यौदा कार्यदलमा एमालेबाट इश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुसाल, सुरेन्द्र पाण्डे र विष्णु पौडेल रहेका छन्  भने माओवादी केन्द्रबाट रामबहादुर थापा, गिरीराजमणि पोखरेल, जनार्दन शर्मा, मातृका यादव र वर्षमान पुन रहेका छन् ।   संगठनात्मक विधान मस्यौदा कार्यदलले संगठन लगायत पार्टी सञ्चालनका आधारभूत विषयमा टुंगो लगाउँदै अब २५ गतेभित्र समितिमा बुझाउनु पर्नेछ ।
यस्तै पार्टी एकता प्रतिवेदन कार्यदलमा एमालेबाट माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त र सुवास नेम्वाङ रहेका छन् भने माओवादी केन्द्रबाट  नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल र देवेन्द्र पौडेल रहेका छन् । 

 

प्रतिक्रिया दिनुहोस