काठमाडौँ । पूर्वराज्यमन्त्रीसमेत रहेका समाजवादी पार्टीका सांसद सुरेन्द्र यादव ‘अपहरण’ पक्ररणमा जिल्ला सरकारी वकिल कार्यालयमा उजुरी दर्ता भएको छ ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदद्वय महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ किसन र पूर्वआइजिपी सर्वेन्द्र खनालविरूद्ध डा यादवले सोमबार बबरमहलस्थित कार्यालयमा निवेदन दिएका हुन्। दर्ता नम्बर १०४७ हो।
यसअघि सरकारी वकिल कार्यालयले आफूहरूलाई केही समय अध्ययन गर्न दिन भन्दै निवेदन दर्ता गरेको थिएन। जनता समाजवादीका शीर्ष नेतासहित सांसद यादव अपहरणको किटानी जाहेरी दिन महानरीय प्रहरी परिसर काठमाडौं गए पनि प्रहरीले जाहेरी लिन मानेको थिएन।
नेकपाका सांसदद्वय बस्नेत, श्रेष्ठ र पूर्वआइजिपी खनालले महोत्तरीस्थित घरबाट आफूलाई अपहरण गरी काठमाडौं ल्याएको सांसद यादवले दिएको निवेदनमा उल्लेख छ। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५ मा जाहेरी दर्खास्त वा सूचना प्रहरीले दर्ता नगरे सरकारी वकिलको कार्यालयमा उजुरी गर्न सकिने व्यवस्था छ ।
उजुरी प्राप्त भएपछि सम्बन्धित सरकारी वकिलको कार्यालयले त्यसको अभिलेख राखेर जाहेरी दर्खास्त वा सूचना आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्ने व्यवस्था छ ।
अपहरणको जाहेरी दर्ता गर्न सांसद यादवसहित जसपाका नेताहरु महानगरीय प्रहरी परिसर, काठमाडौं गएका थिए । तर प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि १६ वैशाखमा सरकारी वकिलको कार्यालय पुगेका थिए । सांसद यादवले राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजुरी दिएका छन् । त्यसपछि सरकारी वकिलको कार्यालयले उजुरी दर्ता गरेको छ ।
प्रतिक्रिया दिनुहोस