माओवादी बाट को को छन् मन्त्रीका आकांक्षी ?

बुधबार, ०९ फागुन २०७४, १५ : ३०
माओवादी बाट को को छन् मन्त्रीका आकांक्षी ?

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकताको प्रारम्भिक आधारपत्रमा हस्ताक्षर भएसँगै माओवादी केन्द्र सरकारमा जाने तयारीमा छ। बुधबार नै सरकार विस्तार गर्ने तयारीका साथ एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल पनि भइरहेको छ। पार्टी एकताको टुंगो नलागेको भन्दै बिहीबार ओलीको नेतृत्वमा सरकार गठन हुँदा माओवादीले सहभागिता जनाएको थिएन। तर, पार्टी एकताका प्रारम्भिक पत्रमा हस्ताक्षर गरेसँगै माओवादी सरकारमा जान आतुर देखिएको छ।

तर, मन्त्रीमा आकांक्षा राख्ने धेरै भएपछि माओवादीलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ।  माओवादी केन्द्रले ६ मन्त्रालय पाउने चर्चा छ। माओवादीले औपचारिक निर्णय नगरे पनि पार्टी नेता रामबहादुर थापा ‘बादल’को नेतृत्वमा सरकारमा जाने निश्चित जस्तै देखिएको माओवादी स्रोतले जनाएको छ। तर, अन्यमा भने क(कसलाई पठाउने भन्ने बारे निर्णय भइसकेको छैन। बादलले उपप्रधानमन्त्रीको जिम्मेवारी पाउने बताइएको छ।

तर, अर्को कुन मन्त्रालय पाउँछन् भन्नेबारे टुंगो लागेको छैन। माओवादीले कति मन्त्रालय पाउने भन्नेबारे पनि निर्णय नभएको माओवादीका एक नेताले जानकारी दिए। तर, गृहमन्त्रालय भने माओवादीले पाउने स्रोतले बतायो। गृहमन्त्रालयमा माओवादीका ३ नेताले आकांक्षा देखाएका छन्। यसअघि, अर्थमन्त्री भइसकेका पार्टीका नेता वर्षमान पुन, गृहमन्त्रालय सम्हालिसकेका जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतले गृहमन्त्रीमा आकांक्षा राखेको पार्टी्निकट स्रोतले बतायो।  पुन प्रदेश ६ को रोल्पाबाट निर्वा्चित भएका हुन्। स्रोतका अनुसार पुनले सरकारको नेतृत्व गर्ने आकांक्षा राखेका थिए। तर, बादलले नेतृत्व गर्ने आकांक्षा राखेपछि उनी पछि हटेका हुन्।

 यस्तै, शर्मा रुकुम पश्चिमबाट निर्वा्चित सांसद हुन् भने बस्नेत जाजरकोटबाट निर्वा्चित सांसद हुन्। यस्तै, मन्त्रीका लागि माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पनि दाबी गरेकी छन्। ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वा्चित भुसाल माओवादी केन्द्रकी प्रवक्ता हुन्। पार्टीमा मन्त्रीको दाबी गर्ने एक मात्र महिला भएका कारण पनि उनको सम्भावना रहेको पार्टीका एक नेताले बताए। उनले भने,‘सांसद त सबैले आकांक्षा राख्छन्। तर, यी चर्चित नेताले पाउने सम्भावना धेरै छ।’ यस्तै, प्रदेश ४ बाट देव गुरङ र देवेन्द्र पौडेलले आकांक्षा राखेका छन्। गुरुङ लमजुङबाट निर्वा्चित सांसद हुन् भने बागलुङ(२ बाट निर्वा्चित पौडेल डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी परित्याग गरेर माओवादीमा आएका हुन्। यस्तै, प्रदेश २ बाट मन्त्रीका लागि नेता मातृका यादवले आकांक्षा देखाएका छन्।

पार्टीका एक नेताका अनुसार उनी मन्त्रीका लागि निरन्तर लविङमा छन्। यादव धनुषा १ बाट निर्वा्चित सांसद हुन्। यस्तै, मधेसी कोटाबाट रौतहट ३ बाट निर्वा्चित सांसद प्रभु साहले पनि आकांक्षा देखाएका छन्। तर, मधेसी कोटाबाट यादवले मन्त्री पाउने सम्भावना रहेको पार्टीका एक नेताले जानकारी दिए। यस्तै, प्रदेश ७ बाट कौलाली ४ बाट निर्वा्चित सांसद लेखराज भट्टले पनि मन्त्रीमा आकांक्षा राखेका छन्।  यसपटक माओवादीबाट दलित समुदायले मन्त्री पाउने सम्भावना कम रहेको छ। प्रत्यक्षबाट प्रणालीमा १ जना र समानुपातिकबाट २ जना दलित महिला माओवादीबाट निर्वा्चित भएका छन्।

माओवादीले निर्वाचनका समयमा पनि संघीय संसद्मा १ जना दलितलाई मात्र प्रत्यक्षतर्फ टिकट दिएको थियो। त्यसबेला पनि दलित नेताहरूले विरोध गरेका थिए। दलित समुदायबाट बाँके १ मा महेश्वरजंग गहतराज निर्वा्चित भएका थिए भने समानुपातिकतर्फ अञ्जना विशुंखे र दुर्गा वि.क. निर्वा्चित भएका थिए। माओवादीका एक दलित नेताका अनुसार यसपटक माओवादीबाट दलितले मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना कम रहेको बताए। उनले भने,‘माओवादीमा अहिले दलितको मन्त्रीका लागि चर्चा नै छैन। दलितले पाउने सम्भावना एक्दमै कम छ।’
 
 

प्रतिक्रिया दिनुहोस