मुख्य प्रतिपक्षसँग सरकार गम्भीर र जिम्मेवार हुनुपर्छ : नेपाली कांग्रेस

मंगलबार, ०८ फागुन २०७४, १६ : २५
मुख्य प्रतिपक्षसँग सरकार गम्भीर र जिम्मेवार हुनुपर्छ : नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले मुख्य प्रतिपक्षसँग सरकार गम्भीर र जिम्मेवार हुनुपर्ने  बताएको छ । कांग्रेसले मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मलेन गर्दै  केपी ओली नेतृत्वको सरकारको प्रारम्भिक यात्रा सुखद नभएको टिप्पणी गरेको छ ।
कांग्रेसले केपी शर्मा ओली सरकारले राष्ट्रियसभामा गरेको तीन सदस्यको सिफारिसमा आपत्ति जनाएको छ ।

पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा कांग्रेसले राष्ट्रियसभा सदस्यमा देउवा सरकारले सिफारिस गरेका नाम फिर्ता लिएर नयाँ नाम सिफारिस गरेकोमा आपत्ति जनाइएको छ । विज्ञप्तिमा भनिएको छ ‘नयाँ गठन भएको सरकारले अघिल्लो सरकारले गरेका कतिपय महत्वपूर्ण निर्णय खारेज गर्ने मनोविज्ञानले आफ्नो यात्रा प्रारम्भ गर्नुलाई हामीले सुखद शुभारम्भका रुपमा लिएका छैनौं ।’

पत्रकार सम्मेलनमा मुख्य प्रतिपक्षसँग सरकार गम्भीर र जिम्मेवार हुनुपर्ने भन्दै प्रवक्ता शर्माले भने, ‘प्रधानमन्त्रीले आफूलाई कसरी अगाडि बढाउन चाहनुहुन्छ भन्ने सुरुवातमा उहाँले लिने निर्णयहरुबाट झल्किन्छ भन्ने हाम्रो ठहर छ ।’

राष्ट्रपतिले अघिल्लो सरकारले गरेको सिफारिस कार्यान्वयनमा ढिलाइप्रति पनि प्रवक्ता शर्माले आपत्ति जनाए । उनले भने, ‘एउटा सरकारलाई एउटा चश्माले हेर्ने, अर्को सरकारलाई अर्को चश्माले हेर्नेखालको सन्देश गएको हो कि भन्ने हाम्रो ठहर छ ।’

कांग्रेसले आफू जिम्मेवार प्रतिपक्षका रुपमा विनम्र ढंगले प्रस्तुत हुने तर, कमजोर ढंगले प्रस्तुत नहुने बताएको छ । प्रवक्ता शर्माले भने, सरकारको आगामी दिनको रबैया हेरेर संसदमा व्यवहार गर्छौं ।’

प्रतिक्रिया दिनुहोस