काठमाडौँ । “हिजो त हामी कसैले चामल, कसैले दाल र कसैले नुन दियौँ र सबै परिवारले खान पाए”, छिमेकीहरु भन्छन्, “सधैँ दिन हामीसँग नि के छ र ?” मनोहरास्थित सुकुम्बासी बस्तीका जाहिर भाटको नौ जनाको परिवार बिहीबार राति भोकै सुत्यो । यो कुरा घरसँगैकी छिमेकी आमाले थाहा पाउनुभयो । उहाँबाट परिवार हुँदै टोलभरि हल्ला फैलियो र सबैले सक्ने खाद्यान्न दिए । शुक्रबार बिहान दिएको खानेकुराले उनीहरुले त्यो दिन र शनिबार दुई छाक पेटभरि खाए । अझै दुई–तीन दिनलाई पुग्ने दाल र चामल छ । त्यो सकिएपछि भने के गर्ने ? उहाँसँग त्यसको जवाफ छैन ।
बजारमा अहिले ग्यास अभाव नभएको जाहिरले सुन्दै आउनुभएको छ । उहाँसँग भएको एउटा सिलिण्डर रित्तिएको पनि एक साता भयो । तर पैसा नहुँदा उहाँले किन्न सक्नुभएको छैन । दैनिक चौरमा गएर भेटिएका कागज, दाउराका टुक्रा बटुलेर ल्याउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बाल्ने कुराभन्दा पहिले खानेकुरा नि चाहियो ।”
मध्यपुरथिमि नगरपालिकाले बाँडेको राहत उहाँले पनि पाउनुभएको थियो । गत चैत २५ गते वडा कार्यालयले राहत वितरण गर्दा १० किलो चामल दिएको थियो । सात जनाको परिवारमा त्यो चामल चार–पाँच दिनमै सकियो । उहाँले फेरि पनि राहतका लागि वडामा सम्पर्क गर्नुभएको छ । तीन–चार दिनदेखि भोलि आउँछ भन्ने जवाफ पाइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आउँछ त भन्नुभएको छ तर कहिले पाइन्छ भन्ने थाहा छैन ।”
उसो त जाहिरको हातमुख जोड्ने समस्या लकडाउनले निम्त्याएको होइन । सात सन्तानका बुबा उहाँ बस्तीमै रहेको सानो छाप्रोमा बस्दै आउनुभएको छ । पुख्र्यौली घर सर्लाही भए पनि अहिले त्यहाँ उहाँको केही छैन । यही रहेको घरमा एउटै कोठामा नौ जनाको परिवारले वर्षाँैदेखि गुजारा गर्दै आएको छ । त्यही एउटा सानो सटरमा उहाँको लुगा सिउने मेसिन छ । त्यो मेसिन नै उहाँको हातमुख जोड्ने आधार हो । पहिले पनि पुगनपुग गर्दै उहाँले निर्वाह गर्दै आउनुभएको थियो । उहाँले भन्नुभयो, “अहिले न त साथमा पैसा छ न त बाँकी खानेकुरा नै ।”
वर्षाँैदेखि लुगा सिलाउने काम गर्दै आउनुभएका उहाँले लकडाउनयता काम नै नआएको बताउनुभयो । कामको अर्डर भए घरमै बसेर गर्न सकिने भए पनि अहिले बजार बन्द हुँदा कसैले कपडा किन्न पाएका छैनन् र उहाँले सिउने काम पाउनुभएको छैन । उहाँका सात जना सन्तान कहिले के खाने त कहिले के खाने भन्दै बुबाआमालाई सताउँछन् । उहाँहरु भने उनीहरुलाई गाली गर्ने वा फकाउने गर्नुहुन्छ । छिमेकीले दिएको खानेकुरा पु¥याएरै खानुपर्ने बाध्यता छ ।
लकडाउन अवधि थपिरहँदा उहाँलाई भने हातमुख जोड्ने कसरी भन्ने नै चिन्ता छ । अझै लम्बिरहे काम पनि नहुने र खान अझै गाह्रो हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कहिले काम गरेर दुई पैसा कमाउनु भन्ने चिन्ता छ ।”
जाहिरकी छिमेकी पम्फा तामाङले बस्तीमा धेरै व्यक्ति दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने बताउनुभयो । लकडाउनका कारण काम गर्न नपाउँदा धेरैको घरमा अन्न र पैसा सकिँदै छ । वडा कार्यालयले यहाँका अधिकांशलाई राहत दिएको छ । कतिपयलाई राहतको खाद्यान्न र घरमा बचेको खाद्यान्नले समस्या नभए पनि ठूलो परिवार भएकालाई भने निर्वाह गर्न कठिन छ । जाहिरको जस्तो एक जनाले कमाएर सिङ्गो परिवार पाल्नुपर्नेलाई गाह्रो भएको उहाँले बताउनुभयो । परिवारका दुई–तीन र १०–१२ जना हुनेलाई राहत बराबर छ । उहाँले भन्नुभयो, “ठूलो परिवार हुनेलाई त १० किलो चामल कति दिनलाई पुग्छ र ?”
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०७ बैशाख २०७७, १३ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिजनमै धान तथा चामल आयात, महिना दिनमा २ अर्ब रुपैयाँ खर्च
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
भारतबाट चामल खरिद गर्न २० वटा व्यापारिक संस्था छनोट
हुम्लामा आयो पोषणयुक्त चामल
दुई लाख ७७ हजार क्विन्टल चामल किन्न फेरि टेन्डर
१४ हजार क्विन्टल चामल खरिदका लागि खाद्य व्यवस्था छान्यो आपूर्तिकर्ता