गुगलले भन्योः कोरोना भाइरसले सन्त्रासले आजको दिन ठट्टा गर्ने होइन, सहयोगमा जुटौं

बुधबार, १९ चैत्र २०७६, ०९ : ०८
गुगलले भन्योः कोरोना भाइरसले सन्त्रासले आजको दिन ठट्टा गर्ने होइन, सहयोगमा जुटौं

काठमाडौं । आज अप्रिल १ तारिख अर्थात् ‘अप्रिल फूल’ । आजको दिनलाई मूर्ख दिवसको रुपमा मनाउने गरिन्छ । यस दिनमा मान्छेहरु एक अर्कालाई विभिन्न बहाना बनाउर्दै मुर्ख बनाएर तथा ठट्टा गर्ने गर्छन् । 

तर अहिले विश्व नै कोरोना भाइरसले आक्रान्त बनाइरहेकाले आजको दिनलाई सर्वसाधारणले खासै चासो दिएका छैनन । कोरोना भाइरसले विश्वका मानिसहरुलाई आतंकित बनाइरहेको यो समयमा ठट्टा गर्नका लागि उपयुक्त समय होइन । किनकी अरुलाई मुर्ख बनाउने वा जोक गर्ने रमाइलो समय अहिले छैन । यही गम्भीरतालाई इन्टरनेट जाएन्ट गुगलले पनि मनन गरेको छ र यो वर्ष अप्रिल फूल नमनाउने निधो गरेको छ ।
समाचार अनुसार गुगलले यो वर्ष अप्रिल फूल दिवसको प्रान्क रद्द गरेको छ । गुगलको मार्केटिङ विभागका प्रमुख लोरिन टुहिलले कम्पनीका उच्च पदस्थ कर्मचारीहरुलाई इमेलमार्फत् पत्राचार गर्दै गुगलले यस वर्ष अप्रिल फूल मनाउने परम्परालाई थाँति राखेको बताएका छन् ।

इमेलमा भनिएको छ, ‘सामान्य अवस्थामा अप्रिल फूल गुगलको परम्परा हो । यसले गुगल परम्परागत ढर्राको कम्पनी होइन र रमाइलो पनि गरिन्छ भन्ने देखाउँदछ । तर यो वर्ष कोरोना भाइरसको महामारीसँग लडिरहेकाहरुको सम्मानमा हामीले यो परम्परालाई थाँति राख्दैछौँ । अहिलेको हाम्रो सबैभन्दा ठूलो लक्ष्य भनेकै मानिसहरुको सहयोगी बन्नु हो । त्यसैले हाम्रा ठट्टाहरु अर्को अप्रिलका लागि जोगाई राखौँ । त्यतिबेला निश्चित रुपमा अहिले भन्दा निकै रमाइलो हुनेछ ।’

गुगलले दुई दशकदेखि अप्रिल फूल मनाउँदै आएको छ । अप्रिल १ को दिन आफ्ना विभिन्न प्लाटफर्महरुमा गुगलले प्रांक गर्ने गर्दछ । तर यो पटक कोरोना विरुद्धको लडाइँमा गुगलले आफूलाई समाहित गरेको छ । कोभिड–१९ सहायता कार्यहरुमा गुगलले ८० करोड डलर सहयोगको प्रतिबद्धता जनाइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस