कोरोना भाइरसको महामारी सामना गर्न अमेरिका सक्षम : राष्ट्रपति ट्रम्प

मंगलबार, १८ चैत्र २०७६, १२ : २४
कोरोना भाइरसको महामारी सामना गर्न अमेरिका सक्षम : राष्ट्रपति ट्रम्प

File Photo

एजेन्सी । दुई सातामा कोरोना भाइरसको महामारी 'उच्च विन्दुमा पुग्दा' त्योसँग जुझ्न अमेरिका निकै राम्रो अवस्थामा हुने राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन् ।

त्यसबेलासम्म अन्य राज्यहरूलाई भेन्टिलेटर र अरू स्वास्थ्य सामग्री पठाउन सकिने अवस्थामा पुगिने उनको दाबी छ ।

ह्वाइटहाउसमा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा ट्रम्पले भने, 'अहिले हामीकहाँ कम्तीमा १० कम्पनीहरूले भेन्टिलेटरहरू बनाइरहेका छन् ।'

ट्रम्पका अनुसार अहिलेसम्म आठ हजार एक सय भेन्टिलेटरहरू निर्माण गरेर पठाइसकिएको छ ।

'मिसिगनमा थप चार सय, न्यूजर्सीमा तीन सय, इलिनोइ र लुजिआना प्रत्येकमा १५० र कनेटिकटमा ५० को सङ्ख्यामा भेन्टिलेटर पठाइने छ।'

एक दिनअघि भने ट्रम्पले गभर्नरहरूलाई महत्त्वपूर्ण स्वास्थ्य उपकरणहरू लुकाएर राखेको आरोप लगाएका थिए ।

फोर्ड मोटर कम्पनीले सय दिनभित्रै ५० हजार नयाँ भेन्टिलेटरहरू बनाउने ट्रम्पको भनाइ छ । भाइरसले फोक्सोमा असर गर्दै श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्याहरू सिर्जना गर्ने भएकाले त्यस्तो बेला बिरामीका लागि भेन्टिलेटर अत्यावश्यक मानिन्छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकालाई चाहिनेभन्दा बढी उत्पादन भएपछि त्यस्ता उपकरणहरू देशबाहिर पठाउने आफ्नो योजना समेत सुनाए ।

सामग्री पठाइने देशमा उनले उच्च प्रभावित इटली, फ्रान्स र स्पेनको नाम लिएका थिए ।

इटलीका हकमा भने उनले १० करोड डलर बराबरका ुसर्जिकल र मेडिकलु सामग्री पठाइने बताएका छन् ।

सामाजिक दूरीमा जोड

राष्ट्रपति डोनल्ड ट्रम्पले आउँदा तीस दिनलाई निकै महत्त्वपूर्ण भन्दै सामाजिक दूरी कायम राखेर दश लाखभन्दा बढी अमेरिकीको जीवन बचाउन सकिने बताएका छन् ।

उनले अहिलेसम्म अमेरिकामा १० लाख भन्दा बढीमा भाइरस जाँच गरिएको भन्दै त्यो अन्य कुनै पनि देशमा भन्दा बढी रहेको दाबी गरे । तर पत्रकारहरूले उनलाई प्रतिव्यक्ति जाँचमा अमेरिका किन दक्षिण कोरियाभन्दा पछाडि रह्यो भनेर सोधेका थिए ।

जबाफमा ट्रम्पले भने आफ्नो प्रशासनले गरेको प्रगतिका लागि आफूलाई बधाई दिनुपर्ने बताए । (बीबीसी)

प्रतिक्रिया दिनुहोस