भरतपुर कोरोना विशेष अस्पतालको शुभारम्भ, स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेन्टी गर्नेछौँ : महानगर प्रमुख दाहाल

सफल खबर संवाददाता

शुक्रबार, ०७ चैत्र २०७६, १३ : १०
भरतपुर कोरोना विशेष अस्पतालको शुभारम्भ, स्वास्थ्यकर्मीहरुको सुरक्षाको ग्यारेन्टी गर्नेछौँ : महानगर प्रमुख दाहाल

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं १० मा रहेको प्रदर्शनी केन्द्रमा ७२ घण्टामा तयार पारिएको कोरोना विशेष अस्पतालका आजबाट शुभारम्भ भएको छ । सम्भावित कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै भरतपुर महानगरपालिकाले निजी क्षेत्रलगायत सबैको समन्वयमा ७२ घण्टामै १० आईसीयूसहित ५० बेडको अस्पताल निर्माण गरेको हो । 

भरतपुर महानगर प्रमुख रेनु दाहाल, बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले संयुक्त रुपमा आज कोरोना अस्पतालको शुभारम्भ गर्नुभएको छ । अस्पतालको शुभारम्भ कार्यक्रममा भरतपुर महानगर प्रमुख दाहालले कारोनो भाइरसलाई परास्त गर्नको लागि निरन्तर लाग्ने प्रतिबद्धता जनाउनुयभो । अस्पतालको शुभारम्भ गर्दै उहाँले भन्नुभयो, ‘यतिबेला विकासभन्दा पनि स्वास्थ्यलाई प्रमुख प्राथमिकता दिएका छौँ, स्वास्थ्यकर्मीहरुको सुरक्षाको पनि ग्यारेन्टी गर्नेछौँ ।’

उहाँले चुनौतीका बाबजुद पनि ७२ घण्टामै अस्पताल निर्माण गरेर शुभारम्भ गर्न सफल हुन सकिएकोमा खुसी प्रकट गर्दै भन्नुभयो, ‘स्थानीय सरकारको तर्फबाट कोरोना अस्पतालमा हामी कुनै कमजोरी हुन दिनेछैनौँ, चिकित्सकहरुको टोलीलगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई निरन्तर साथ र सहयोग रहन्छ ।’ उहाँले संघीय सरकारले कोरोना संक्रमित हुनेहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई ७५ प्रतिशत थप भत्ताको व्यवस्था गरेको बताउँदै भन्नुभयो, ‘सो भत्तामा भरतपुर महानगरले २५ प्रतिशत थप भत्ता थप्नेछ, त्यो म यहाँ घोषणा गर्न चाहन्छु ।’

भरतपुर महानगर प्रमुख दाहालले प्रदेश तथा संघीय सरकारसँग पनि अस्पतालको लागि थप उपकरणहरु माग गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँको साधन स्रोतले भ्याएन भने पनि हामी संघीय तथा प्रदेश सरकारसँग थप सामग्री मगाउनेछौँ, यतिबेला सिगो भरतपुर महानगर नगरवासीहरुलाई कोरोना भाइरसको संक्रमण हुन नदिन पूरा तयारी अवस्थामा रहेको छ । 

वागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले ७२ घण्टामा अस्पताल तयार पार्न सक्नु ठूलो कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘वागमती सरकारले प्रदेशभरि ३०० आईसीयूसहित एक हजार बेडको आइसोलेसन तयार पारेको छ ।’ उहाँले कोरोना भाइरसलाई नेपालमा प्रवेश गर्न नदिनको लागि हवाइ यातायात बन्द देखि सीमा नाकासम्म कडाइ गरेको बताउनुभयो । 

कार्यक्रममा अस्पताल स्टेरिङ कमिटीका तथा महानगर स्वास्थ्य विज्ञ डा भोजराज अधिकारीले स्थानीय सरकारको  बलियो उपस्थितिका कारण नै अस्पताल निर्माण गर्न सफल हुन सकिएको बताउनुभयो । अस्पताल शुभारम्भ कार्यक्रममा चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा अनिलविक्रम कार्कीले चिकित्सकहरु डराएको अवस्था नरहेको र राज्यको उपस्थिति अझ बलियो हुनुपर्ने अवस्था रहेको बताउनुभयो । अस्पतालमा आइसीयू, एचडीयू र जनरल वार्डसहित प्रस्तावित ७० शैयामध्ये ५० शैयाको व्यवस्थापन भइसकेको छ । आजैबाट अस्पताल सञ्चालनमा आइसकेको छ । 

सामग्री हस्तान्तरण 

बागमती प्रदेशका सामाजिक विकासमन्त्री दुलालले भरतपुर महानगर प्रमुख दाहालले अस्पतालको लागि केही सामग्री हस्तान्तरण गर्नुभएको छ । उहाँले चिकित्सकहरुले उपचारमा लगाउने पोशाकसहित मास्क हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेशका सांसदहरु घनश्याम दाहाल अविनास, विजय सुवेदी, मिलनबाबु श्रेष्ठ रहुनभएको थियो । यस्तै, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, उद्योग संघका अध्यक्ष राजु पौडेल, उद्योग वाणिज्य संघका अध्यक्ष राजु श्रेष्ठ, भरतपुर महानगर उपप्रमुख पार्वती शाह, चिकित्सकहरु, उद्योगी व्यवसायी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।