दैनिक उपभोग्य वस्तुमा कालोबारी गर्ने विरुद्ध मार्सल टोली

सफल खबर संवाददाता

बुधबार, ०५ चैत्र २०७६, १४ : १७
दैनिक उपभोग्य वस्तुमा कालोबारी गर्ने विरुद्ध मार्सल टोली

फाईल फोटो

काठमाडौँ ।  बजारमा दैनिक उपभोग्य वस्तुमा कालोबारी गर्ने विरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौँले स्थानीय तह र वाणिज्य विभागका प्रतिनिधिसहित सम्मिलित मार्सल टोली तैनाथ गराउने तयारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा सुरक्षा निकाय, स्थानीय तह, जिल्ला समन्वय समिति, उद्योग वाणिज्य संघ, वाणिज्य विभागसहितका प्रतिनिधि सम्मिलित बैठकले  बजार अनुगमन गर्न प्रशासनबाट अधिकृतको नेतृत्वमा मार्सल टोली खटाउने निर्णय गरेको हो।

 बजार अनुगमनदेखि कालाबजारी विरुद्ध प्रशासनबाट संयन्त्र परिचालन गर्न लागिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले जानकारी दिए । स्थानीय तह र वाणिज्य विभागका प्रतिनिधिलाई पनि समावेश गरिने छ।

महँगोमा बेच्‍न लागिएका १० लाख ८ हजार थान मेडिकल मास्कसहित ६ व्यापारीलाई गोप्य सूचनाका आधारमा प्रशासन र प्रहरीको टोलीले आइतबार र सोमबार पक्राउ गरेको थियो । गृह मन्त्रालयले देशभरका स्थानीय तहलाई कोरोना भाइरस संक्रमण रोकथामका लागि ‘प्रतिकार्य योजना’ तयार पार्न परिपत्र गरेको थियो।

ज्वरो मापनयन्त्र, मेडिकल मास्क, स्यानिटाइजर सहितका स्वास्थ्य सामग्रीको व्यवस्थापन, जोखिम न्यूनिकरण अभियान सञ्चालन गर्न पनि प्रशासनले महानगरपालिकासहित सबै स्थानीय तहहरुलाई निर्देशन दिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयले सबै स्थानीय तहसँग समन्वय गर्नुपर्ने निर्णय भएको आचार्यले बताए । 

प्रतिक्रिया दिनुहोस