कोरोना भाईरसको कारण सन् २०२० कोे युरोकप फुटबल एक वर्षपछि हुने

सफल खबर संवाददाता

मंगलबार, ०४ चैत्र २०७६, २१ : ४१
कोरोना भाईरसको कारण सन् २०२० कोे युरोकप फुटबल एक वर्षपछि हुने

काठमाडौँ । सन् २०२० कोे युरोकप फुटबल एक वर्षपछि सारिएको छ । कोरोना भाईरस (कोभिड–१९) को कारण युरोकप एक बर्षपछि सारिएको हो । यसअघि युरोकप यसैबर्षको जुन १२ देखि जुलाई १२ सम्मका लागि तय भएको थियो । युरोपेली फुटबल महासंघ (युईएफए) को मंगलबार बसेको आकस्मिक बैठकले युरोकप सन् २०२१ को जुन ११ देखि जुलाई ११ सम्म सञ्चालन गर्ने निर्णय गरेको अन्तर्राीष्ट्रय समाचार संस्था बीबीसीले जनाएको छ ।

युरोपमा कोरोनाको संक्रमण बढी देखिएको कारण युरोकप फुटबल सारिएको हो । कोरोना भाइरसको कारण यसअघि युरोपियन च्याम्पियन्स लिग, युरोपा लिग, इङ्लिस प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरिए लगायत फुटबल गतिविध स्थगित गरिएको थियो । आइतबार इटालियन फुटबल महासंघले युरोकप स्थगित गरिनु पर्ने माग राखेको थियो ।

युईएफएले युरोकप फुटबलको समूह विभाजन यसअघिनै गरि सकेको छ । यसपटक साविक विजेता पोर्चुगल कठिन समूहमा परेको छ । पोर्चुगल रहेको समुह ‘एफ’ मा फ्रान्स र जर्मनी छन् । यस समूहमा इजरायल, रोमानिया, बुल्गेरिया वा हंगेरी मध्ये एक टोली प्लेअफबाट आउनेछ ।

यसैगरी समुह ‘ए’ मा टर्की, इटली, वेल्स र स्विट्जरल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ । समूह ‘बी’ मा बेल्जियम, रुस, डेनमार्क र फिनल्यान्ड छन् । समूह ‘सी’ मा युक्रेन, नेदरल्यान्ड्स, अष्ट्रिया र एक टोली प्ले अफबाट आउनेछ ।

समूह ‘डी’ मा इङ्ल्यान्ड, क्रोएसिया, चेक रिपब्लिक र प्ले अफ छनोटबाट आउने टोली रहेको छ । समूह ‘ई’ मा स्पेन, पोल्यान्ड, स्विडेन र प्ले अफ छनोटबाट आउने टोली रहेको छ । यसअघि युरोकपका खेल विभिन्न १२ देशमा सञ्चालन हुने भनिएको थियो । युरोकपमा २४ देशले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस