कुमारीलाई ३–१ गोलले हरायो खुमलटारले

सफल खबर संवाददाता

मंगलबार, ०४ चैत्र २०७६, १४ : २२
कुमारीलाई ३–१ गोलले हरायो खुमलटारले

प्रतिकात्मक फोटो

काठमाडौँ । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा सोमबार श्री कुमारी क्लबमाथि ३–१ को सहज जित निकाल्दै खुमलटार अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

समान पाँच खेलबाट खुमलटारको १३ अंक र शीर्ष स्थानको सातदोबाटो युथ क्लबले १५ अंक जोडेको छ। सविनले सबै गोल पहिलो हाफमै गर्दै ह्याट्रिक पूरा गरेका थिए। श्री कुमारीका मिसन लामाले पनि पहिलो हाफमै गोल गर्दा खेल रोमाञ्चक बनेको थियो।

खेलको नवौं मिनेटमा सविनको गोलबाट खुमलटारले अग्रता लिएको थियो। यद्यपि त्यसको तीन मिनेट पछि नै श्री कुमारी खेलमा फर्कियो। १२औं मिनेटमा मिसन लामाले गोल गर्दै श्री कुमारीलाई १–१ को बराबरीमा पु¥याए। तर त्यो बराबरी लामो समय टिक्न सकेन। १५औं मिनेटमा सविनले गोल गर्दै खुमलटारलाई पुनः अग्रता दिलाए। ४२औं मिनेटमा सविनले ह्याट्रिक पूरा गर्दा खुमलटारले पहिलो हाफमै ३–१ को अग्रता लियो।

दुवै तर्पबाट दोस्रो हाफमा गोल हुन नसक्दा खुमलटारले ३–१ को नतिजा जोगायो। हारसँगै श्री कुमारी पाँच खेलबाट तीन अंकसहित दशौं स्थानमा छ। सोमबारै भएको अर्को खेलमा श्री भगवती र टुसाल युथ क्लबले १–१ गोलको बराबरीमा खेलेको छ। अग्रता जोगाउन नसक्दा श्री भगवतीले अंक बाँड्नु परेको थियो। खेलको आठौं मिनेटमा मोहनबहादुर थापामगरको गोलबाट श्री भगवतीले अग्रता लिएको थियो। तर, अन्तिम समय समालिन नसक्दा श्री भगवतीले स्पष्ट अंक प्राप्त गर्ने अवसर गुमायो। 

प्रतिक्रिया दिनुहोस