कोरोना भाइरस (कोभिड–१९)

कोरोना कहर रोक्न सार्क सहकार्य होला या नहोला ?

सफल खबर संवाददाता

शनिबार, ०१ चैत्र २०७६, १८ : ३३
कोरोना कहर रोक्न सार्क सहकार्य होला या नहोला ?

काठमाडौँ । विश्वभर यतिबेला कोभिड १९ अर्थात कोरोनाको कहर व्याप्त छ । चीनमा सुरु भएको कोरोना भाइरसको कहर युरोपहुँदै अफ्रिकी मुलुक पुगिसक्यो । केही दिनयता विभिन्न देशमा फैलने क्रम बढ्दो छ । 
शनिबार अपराह्नसम्म १ सय ४८ देशमा कोरोना पुगिसकेको छ । सबै देशमा गरि १ लाख ४८ हजार ५१ जना संक्रमित भएका छन् । त्यसमध्ये ५ हजार ५ सय ४४ जनाको मृत्यु भएको छ । ७२ हजार ५ सय ७२ जना उपचारपछि निको भएका छन् ।

दक्षिण एसियाको भारतमा हालसम्म २ जनाले ज्यान गुमाइसकेका छन् । त्यहाँ संक्रमितको संख्या बढ्दै ८४ पुगेका छन् । भारतमा कोरानाले मानिसको ज्यान लिए लगत्तै त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क स्तरमै नियन्त्रणको रणनीति बनाउन आव्हान गरे । जस अनुसार नेपालका प्रधानमन्त्री तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका अध्यक्ष केपी शर्मा ओलीले सामुहिक नियन्त्रण गर्न सहमति जनाए । अब भुटान, श्रीलंका, मालदिभ्सले कोराना विरुद्धको क्षेत्रीय सहकार्यका लागि हरियो झण्डा देखाउँदै ऐक्यवद्धता जनाएका छन् । 

भारतमा संक्रमण फैलदा त्यसको पहिलो छिटो असर खुला सिमाना भएको नेपालमै पर्छ । यसै हेतु सार्क स्तरीय छलफलबाट संक्रमण एकदेशबाट अर्को देशमा थप फैलन नदिन चाँडो पहल गर्न विज्ञ सुझाउँछन् । सार्क क्षेत्रमा ७० करोड बढि आवादि रहेको छ । शुक्रबारको ट्विट प्रस्ताव र ऐक्यवद्धतापछि सार्क राष्ट्रीबीच थप छलफल होला वा नहोला त्यो यतिबेला निकै चासोको बिषय बनेको छ ।

शसस्त्र द्वन्द्वमा आफ्नै मौलिक पहलले सफलता हात पारेको नेपाल सार्कको अध्यक्ष राष्ट्र छ । नेपालको राजधानी काठमाडौँमा नै सार्कको सचिवालय छ । सचिवालयमा हालसालैमात्र नवनियुक्त महासचिव एसाला रुवान बीराकुनले कसरी सार्क राष्ट्रलाई एकैथलोमा भेला पारेर कोरानाको रोकथाम गर्ने पहलमा मलजल गर्लान त्यो पनि अर्को चासोको बिषय बनेको छ । अझै सहमति नजनाएका पाकिस्तान, अफगानिस्तान र बंगलादेशलाई कसरी यो पहलमा जोड्ने त्यो कसरत अब सार्क सचिवालयकै जिम्मामा छ ।

 विगत चारबर्ष बढिको अवधिदेखि सार्क शिखर सम्मेलन हुन सकेको छैन् । पाकिस्तान र भारतबीचको आपसी मनमुटावका कारण सार्क शिखर सम्मेलन सम्भव नभएका बेला कोरोना कहरबाट बच्न सार्कस्तरीय एकता होला वा नहोला यो पनि पर्खाइकै बिषय बनेको छ । तथापी भारतको प्रस्ताव नेपाल सहित अन्य देशको सहमतिले अब क्षेत्रीय पहलले गति लिन्छ भन्ने एउटा सन्देश भने दिएको छ । भारतका प्रधानमन्त्रीले ट्वीट मार्फत एक सन्देश सहकार्यको सन्देश प्रवाह गर्दै आफ्ना नागरिकहरूलाई कसरी सुरक्षित राख्न भन्ने विषयमा भिडियो कन्फरेन्स मार्फत छलफल गर्न सक्ने औँल्याएका हुन् । ‘स्वस्थ विश्वका लागि एकैसाथ योगदान गर्न सक्छौं र हामीले विश्वलाई एउटा उदाहरण प्रस्तुत गर्न सक्छौं,’ उनले भनेका छन् ।

दक्षिण एशिया विश्व जनसंख्याको ठूलो हिस्सा भएको जनाउ दिदैँ मोदीले भन्नुयो जनताको स्वास्थ्य सुनिश्चित गर्न कुनै कसर राख्न नहुने बताएका थिए । नेपालका प्रधानमन्त्री ओलीले कारोना भाइरस विरूद्ध लड्न सार्क राष्ट्रका नेताहरूबीच बलियो रणानीति बनाएर अघि बढ्न्ुको विकल्प नरहेको जवाफ टिवटबाटै दिएका थिए । एकातिर भारततर्फको खुला नाकाबाट आवश्यक सामग्री ल्याउनै पर्ने वाध्यता । अर्कोतर्फ रोटीबेटीको सम्बन्धका कारण खुला सिमाबाट आवतजावत सुचारु राख्नुपर्ने अवस्था । 

यस्तै अवस्थाले नेपालमा थप संक्रमण फैलन सक्ने आशंका चिकित्सक तथा आम जनमानसले गरिरहेका छन् । यस्तो आशंकाका बीच अन्य देशमा संक्रमण बढ्न नदिन र बढेको खण्डमा नियन्त्रणको उपाय कस्तो अपनाउने भन्ने बारेको दिगो समाधान तत्काल खोज्न जरुरी रहेको सबै देशले महसुस गरेको छ । त्यसैले पनि अब क्षेत्रीय सहकार्यको नयाँ बाटो खोलेर अघि बढ्न आँट सार्क मुलुकले नगरे कोरानाको कहरले सबैकुरा ध्वस्त बनाएको टुलुटुलु हेर्नुको अर्को विकल्प पनि रहेको विश्लेषक वर्ग बताउँछन् ।