सरकारको प्रचार बढी : अझै पुर्याउन सकेन सीमामा स्वास्थ्य टोली

सफल खबर संवाददाता

बुधबार, २८ फागुन २०७६, २० : ३०
सरकारको प्रचार बढी : अझै पुर्याउन सकेन सीमामा स्वास्थ्य टोली

फाईल फोटो

काठमाडौँ । सरकराले कोरोना भाईरस भित्रिन नदिन उच्च सावधानी र सतर्कता अपनाइएको जनाइरहेको छ । पटक टक पत्रकार सम्मेलन गरेर होस् या कुनै समारोह गरेरै भएपनि उच्च तयारी गरिएको बताइए आवश्यक काम भने गर्न सकेको देखिँदैन ।
मुख्यगरी भारतमा समेत कोरोना देखिएपछि खुला सिमानाका कारण नेपाल उच्च जोखिम छ । तर सरकारले सीमा नाकामा भने आवयक स्वास्थ्य सुरक्षा अपनाउन सकेको छैन । सीमा क्षेत्रमा १२९ ठाउँबाट आवतजावत हुन्छ । ३७ नाकाबाट त गाडी नै आवतजावत गर्छ । त्यसमध्य अहिलेसम्म जम्मा ४१ नाकामा मात्रै हेल्थ डेस्क स्थापना गरिएको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसार श्रेष्ठका अनुसार नै कतिपय ठाउँमा डेस्क स्थापना गर्न सकिएको छैन । केही ठाउँमा समस्याहरु देखिएको भन्दै भर्खरै मात्र सामग्रीहरु पुर्याइएको उनले बताए । 

आन्तरिक सबै विमानस्थलमा स्वास्थ्य जाँच गरिएको भनेर प्रचार गरिए पनि  जनकपुर र लुम्बिनी विमानस्थलमा अझै चेकजाँच शुरु भएको छैन । श्रेष्ठले छिट्टै त्यो दुई ठाएँमा परीक्षण शुरु हुने आज मात्रै काठमाडौँमा भएको पत्रकार सम्मेलनमा बताएका छन् ।  
नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण आजको मितिसम्म छैन । चीनको उहान प्रान्तबाट आएका एक नेपालीमा देखिएको कोरोना निको भइसकेको छ । मुलुकको सीमा जोडिएको देशमा कोभिड–१९ फैलिएकाले विश्व स्वास्थ्य सङ्गठनले जोखिम देशको सूचीमा नेपाललाई पनि राखेको छ ।  तर अहिलेसम्म नेपालमा भगवान भरोसा जस्तै गरी रोग भित्रिएको छैन । भित्रियो भने उपचारका लागि आवश्यक तयारी सरकराले गरेपनि पर्याप्त भने ेखिँदैन । चीनको उहान प्रान्तमा जसरी फैलियो भने नेपालमा ठुलो समस्या हुनसक्ने देखिएको विज्ञहरु बताउँछन् । 

अहिलेको समस्या भनेको गलत सूचना सम्प्रेषणका कारण पनि भएको छ । सरकारी निकायनै गलत सूचना प्रशारण गरिरहेका छन् । एक स्थानीय यतहले कोरोनाको उपचार बेसार लसुन हो भनेरै विज्ञप्ति जारी गरेको छ।  तर चिकित्सकहरुले बेसार, खुर्सानी, लसुन,या मदिर केहीबाट पनि उपचार नहुने प्रष्ट पारिसकेको छ । 
आज मात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा विज्ञ र पत्रकारबीच आधिकारिक सूचना प्रवाह गर्ने विषयमा गम्भीर छलफल भएको थियो । उठेका जिज्ञासा मेटाउने क्रममा विभागका वरिष्ठ स्वास्थ्य प्रशासक डा हेमन्त ओझाले खुर्सानी, बेसार र लसुन खाएर निको हुन्छ भन्ने हल्लाको पछि नलाग्न र त्यसको प्रचारप्रसार नगर्न अनुरोध नै गरे । उनले बजारको हल्लामा नलागी सही सूचना लिएर सम्प्रेषण गर्न आग्रह गरेका छन् ।

 बिरामीले खोक्दा, हाच्छिउँ गर्दा वा उसले प्रयोग गरेको वस्तु प्रयोग गर्दा रोग सर्ने जोखिम हुन्छ । त्यसमा सावधानी अपनाउने र मिचीमिची साबुनपानीले हात धुने, स्यानिटाइजेशन गर्दा रोगबाट बच्न सकिन्छ । माछामासु राम्ररी पकाएर खाने, पशुपक्षीको असुरक्षित सम्पर्कबाट टाढा रहने गर्दा रोगबाट बच्न सकिन्छ । 
 यसलाई बढी प्रचारप्रसार गर्न सके प्रभावकारी हुने देखिन्छ । कोरोनाको मुख्य लक्ष्यण भनेको ज्वरो, सुक्खा खोकी र श्वासप्रश्वास समस्या हुनु हो । 

नेपालको जस्तै वातावरण भएको देशमा समेत देखिएकाले मुलुकमा पनि आउन सक्ने सम्भावना रहेकाले पहिले त आफैँ सावधानी अपनाउन जरुरी रहेको चिकित्सकले बताएका छन् । 
सन् २०१९ को डिसेम्बर ३१ मा चीनको उहान प्रान्तमा देखिएको कोभिड–१९ हालसम्म त्यहाँको ३४ प्रान्तमा फैलिसकेको छ । त्यसमध्ये ९४ प्रतिशत सङ्क्रमण उहानमा छ । अहिले चीनको सङ्क्रमणदर न्यून भएको छ । कोरोना सन् २००२ बाट देखापरेको थियो । अहिलेको कोरोना सातौँ प्रजातिको हो । 

सन् २००२ मा सार्स कोरोना पत्ता लागेको थियो । त्यो बेला बिरालोबाट मानिसमा सरेको थियो । सन् २०१२ मा मार्स कोरोना ऊँटबाट मानिसमा सरेको पत्ता लागेको थियो । सन् २०१८ मा निप्स कोरोना आयो  । यो पटकको कोभिड–१९ चाहिँ जनावरबाट सरेको बताइए पनि  कुन जनावरबाट हो भनेर पुष्टि भएको छैन । 

चीनमा हालै १७ हजार १८५ बिरामीमा गरिएको एक अध्ययनमा ८२ प्रतिशत सामान्य लक्षण, १५ प्रतिशतमा कडा र तीन प्रतिशतमा मात्रै जटिल खालको कोरोना सङ्क्रमण भएको पत्ता लागेको थियो । 
सङ्क्रमणदर धेरै भए पनि जटिल सङ्क्रमण भने न्यून हुने उक्त अध्ययनले पुष्टि गरेको छ । कोरोना भाइरस वातावरणमा लामो समय नबाँच्ने र पानीबाट पनि नआउने चिकित्सकले बताएका छन् ।  

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म विश्वका ११३ देशमा एक लाख १८ हजारमा रोगको सङ्क्रमण भएको छ । चार हजार २९० को मृत्यु भएको छ । बिरामीमध्ये ६६ हजारभन्दा बढी उपचारपछि घर फर्किसकेका छन् । अहिले अन्य देशहरुमा संक्रमण बढ्दो छ । आज सर्वदलीय बैठककै बसेर कोरोना भित्रिन नदिन राष्ट्रिय अभियान चलाइने निष्कर्ष निकालिएको छ ।