साल्ट ट्रेडिङसँग छ १० महिनालाई पुग्ने नुन

सफल खबर संवाददाता

शनिबार, २४ फागुन २०७६, २१ : ४७
साल्ट ट्रेडिङसँग छ १० महिनालाई पुग्ने नुन

फाईल फोटो

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले आफूले वितरण गर्दै आएको कुनैपनि वस्तुको वितरण र आपूर्ति प्रणालीमा समस्या नरहेको स्पष्ट पारेको छ ।  कोरोना भाइरसको संक्रमणपछि आपूर्ति ठप्प हुने हल्लासँगै बजारमा कालोबजारी बढ्न थालेको बेला साल्ट ट्रेडिङले अहिलेसम्म मौज्दात र आपूर्तिमा समेत कुनै पनि प्रकारको समस्या नरहेको स्पष्ट पारेको हो । 

कर्पोरेसनसँग अहिले १ लाख ५८ हजार मेट्रिक टन नुनको स्टक रहेको कर्पोरेसनका डिभिजन म्यानेजर ब्रजेशकुमार झाले जानकारी दिए । यो स्टकले नै करिब १० महिनाको बजारको माग धान्ने तथा अहिले भारतबाट नियमित रुपमा नुनको आयात भइरहेको भन्दै उनले यो संक्रमणको कारण बजारमा नुनको अभाव नहुने स्पष्ट पारे । अहिले बजारमा मासिक १६ हजार मेट्रिकटन नुनको खपत हुँदै आएको छ । 

साल्ट ट्रेडिङले अहिले ६ महिनाको आयातलाई धान्न सक्नेगरी बफर मौज्दात राख्दै आएको छ । यसका लागि अहिले १ लाख ३६ हजार मेट्रिक टन नुन छुट्याइएको छ । त्यस्तै अहिले बजारमा रहेको र मार्गस्थलमा रहेको समेत गरी २२ हजार ५ सय मेट्रिकटन थप मौज्दात समेत गरी कुन १ लाख ५८ हजार ५ सय मेट्रिक टन स्टक रहेको हो । 

प्रतिक्रिया दिनुहोस