नवलपुर । गुप्तप्रसाद रेग्मीले आफ्नो जीवनका अधिकांश वसन्तहरु ठेक्कापट्टाको काममा बिताए । ठेक्कापट्टाका ती दिनहरु सम्झदा उनलाई अहिले पछुतो लाग्छ । ठेक्कापट्टाको कामबाट उनी त खुसी नै भए, तर अरुलाई बाटो देखाउने काम नहुँदा भित्रभित्रै मन बेखुसी थियो ।
उनले २८ वर्ष त ठेक्कापट्टाको काममा जीवन गुजारे । ठेक्कापट्टासँगसँगै केही सामाजिक सेवाको काममा समेत उनी तल्लीन भए । यही सिलसिलामा स्थानीय तहको निर्वाचनमा गैँडाकोट नगरपालिका वडा नं ११ बाट वडा सदस्यको टिकट पाए । जनताले उनलाई जिताएर गैँडाकोट नगरपालिकाको जनप्रतिनिधि बनाइदिए ।
‘जनप्रतिनिधि भएपछि ठेक्कापट्टाको काममा उनको पूर्णबिराम लाग्यो’ गुप्तप्रसाद रेग्मी भन्छन्, ‘त्यसपछि मैले मेरो बाटो मोडेर कृषि कर्ममा लागेँ, अहिले कृषिमा रमाइरहेको छु ।’ जनप्रतिनिधि गुप्तप्रसादको देखासिकीबाट वरपरका छिमेकीमात्र होइन, गैँडाकोट नगरपालिकाको एउटा वडा नै कृषि कर्ममा जुटिरहेको छ ।
जनप्रतिनिधि गुप्तप्रसादलाई एक दिन गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले दुई वर्षअघि वडा नं १८ का गाउँबस्ती देखाउन लगे । त्यसपछि उनको बाटो मोडियो ।
गैँडाकोटको १८ नं वडामा सम्म परेको ठाउँ नै छैन । जताततै डाँडैडाँडा छन् । धेरै डाँडाहरु अझै बाँझो छन् । केही डाँडाहरुमा बाँदर उफ्रन्छन् । घरहरु पातला छन् । त्यहाँका स्थानीयले कोदो मकै लगाउँछन् र वर्षभरि त्यसकै भरमा जीवन कटाउँछन् । प्रायः मगर जातिका मानिसहरुको बाहुल्य बढी छ ।
गैँडाकोट नगरपालिकाको वडा नं १८ पहाडी वडा घुमेपछि गुप्तप्रसादलाई ती नांगा डाँडाहरुमा कृषि कर्म गरेर नमुना बन्ने सोच आयो । त्यहाँका स्थानीयका लागि प्रेरणाको स्रोत बन्ने अठोट गरे गुप्तप्रसादले । ‘म वडा नं ११ को जनप्रतिनिधि हो, तर म १८ आएर यतिबेला कृषि कर्ममा जुटिरहेको छु, यहाँका नांगा डाँडाहरुलाई खोस्रेर हरियाली बनाउन जुटेको छु’ गुप्तप्रसादले भने, ‘मेरो देखासिकी गरेर नै यहाँका स्थानीय यतिबेला कृषि कर्ममा लागिरहेका छन् ।’
उनका अनुसार हिजो बाँदर लड्ने भीरहरुमा यतिबेला सुन्तलाका बोट हुर्किरहेका छन् । हिजो धुम्सी खेल्ने डाँडाहरुमा यतिबेला कागतीका बोट बढिरहेका छन् । डाँडाहरु यतिबेला हरियाली बन्दै गएका छन् । यहाँका कोदो मकै रोपेर निर्वाहमुखी गर्ने किसानहरु गुप्तप्रसादको प्रेरणाबाट नै नमुना किसान बन्ने कोशिस गरिरहेका छन् ।
गैँडाकोट नगरपालिका– १८ बसेनीमा रेग्मीले टीकारत्न टुल्की कृषि फर्म नै खोलेका छन् । उनले ३६ रोपनी जग्गा किनेर स्याउदेखि एबोकाँडोसम्म लगाएका छन् । कुखुरा पालनदेखि तरकारीसम्म फलाएका छन् । सिजनको बेलामा दैनिक ४० जनालाई उनले रोजगारसमेत दिएका छन् । उनी भन्छन्, ‘यतिबेला कृषिमा लागत लगाइरहेको छु कति लागेको छ भन्ने हिसाब किताब नै भएको छैन, आम्दानी त दुई वर्षपछि बल्ल देखिन्छ ।’
चालु आव २०७६ र ७७ मा गैँडाकोट नगरपालिकाको पहलमा वडा नं १८ लाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ नवलपुरअन्तर्गत सुन्तला जोन घोषणा गरेपछि गुप्तप्रसादको भाग्य झन चम्किएको छ ।
‘जब म यहाँ आएर कृषि कर्म गर्न थाले, सुन्तला र कागती लगाउन थालेँ, यस ठाउँमा सुन्तला जोनमा पर्न सफल भयो, मलाई ढुंगा खोज्दा देउता मिलेको अनुभव भएको छ’ गुप्तप्रसादले भने, ‘यहाँ सिंचाइको सुविधा थिएन, अहिले त्यो सुविधा पनि भएको छ, यहाँका स्थानीय आफूलाई खान पुग्ने गरी कृषिमा लागेको थिए, अहिले उनीहरु बेचबिखन गर्ने तरिकाले कृषिमा लागेका छन् ।’
गुप्तप्रसादले किनको जग्गा र भाडामा गरी ५० रोपनीमा कृषि गरेका छन् । उनले भने, ‘१२ सय बिरुवा सुन कागती लगाएको छु, ३०० बिरुवा निबुवाका छन्, टिमुर, एबोकाँडो, अनार, सुन्तला, ओखर, च्याप्टे बदाम, आल्मोनलगायत २५ जातजातिका फलफूलको खेती गरेको छु ।’
नांगा डाँडाहरु यतिबेला हरियो देखिन थालेका छन् । गाउँलेहरु भन्न थालेका छन्, गुप्तप्रसाद रेग्मी दाईले नै हाम्रो आँखा खोलिदिनुभयो । उनले फलफूल बारीमा स्थानीय जातका कुखुरापालनसमेत गरेका छन् ।
‘म ६० वर्ष भएँ, मेरो अबको जीवन नै कृषि हो,’ उनले भने, ‘जनप्रतिनिधि भएपछि आफ्नो क्षेत्रको जनताको कुरा पनि सुन्न परिरहेको छ, कृषि कर्ममा पनि जुटिरहेकै छु ।’ समथर ठाउँबाट पहाडमा गएर खेती गर्दा गाह्रो भए पनि त्यहाँका स्थानीयवासीले आफूबाट सिकेर काम गर्दा आनन्दको अनुभूति भएको गुप्तप्रसादले बताए ।
सो क्षेत्रको प्रत्येक घरबाट युवाहरु वैदेशिक रोजगारमा जाने गरेका छन् । उनीहरुका आश्रित परिवार गैँडाकोटको बजारमा झर्ने र गाउँको खेतबारी बाँझै रहने समस्या छ । आफूले त्यहाँ पुगेर कृषिको काम सुरु गरेपछि विदेशबाट युवाहरु फर्कन थालेका गुप्तप्रसादले बताए । उनले भने, ‘विदेशबाट फर्केर पनि यहाँका स्थानीय मेरो काम देखेर दंग पर्दै कृषि कर्ममा लागेका छन् ।’
निर्वाहमुखी कृषिलाई विस्थापित गर्दै व्यावसायिक खेतीतर्फ स्थानीयवासीको आकर्षण बढेको छ । त्यस ठाउँमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ सुन्तला जात फलफूल जोन नवलपुरले सिँचाइको व्यवस्था गरेको छ ।
जोन लागू भएपछि सो स्थानमा अन्य स्थानीयले समेत सुन्तलाको बिरुवा लगाएका छन् । ‘बाहिरबाट आएका मान्छेले भन्दा पनि यहाँका स्थानीयले कृषि कर्म नगरेसम्म यहाँको जीवनस्तर उकासिन्न, त्यसकारण मेरो भूमिका यहाँका स्थानीयलाई पनि सफल बनाउनमा रहन्छ’ गुप्तप्रसाद गुनासिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ फागुन २०७६, १७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मकवानपुरगढीद्वारा कृषकलाई अनुदान
कृषि क्षेत्र उपेक्षित भएको महोत्तरीका मतदाताको गुनासो
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री थापा
कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापतिद्वारा शपथ ग्रहण
विद्यालयमै च्याउ र तरकारी खेती, पढ्दै कमाउँदै विद्यार्थी
अर्गानिक कृषि उत्पादनमा जुट्दै भोजपुरका किसान