जिम्बाब्वेका पूर्व प्रधानमन्त्रीको निधन

विहीबार, ०३ फागुन २०७४, २० : १४
जिम्बाब्वेका पूर्व प्रधानमन्त्रीको निधन

एजेन्सी । जिम्बाब्वेका पूर्व प्रधानमन्त्री मोरगेन चाङ्गिराइको बुधबार निधन भएको छ । उनी त्यहाँको प्रमुख प्रतिपक्षी दलको नेता पनि रहेका थिए ।  स्थानीय समयानुसार बुधबार साँझ ६५ वर्षीय पूर्व प्रधानमन्त्री चाङ्गिराइको निधन भएको थियो ।

क्यान्सर रोगबाट पीडित उनको दक्षिण अफ्रिकास्थित एक अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको निधन भएको हो । उनको निधनको जानकारी परिवारजनले दिएका छन् ।  चाङ्गिराइको निधनपछि एकजना उदाहरणीय लोकतन्त्रका योद्धालाई देशले गुमाएको सामाजिक सञ्जाल ट्वीटरमा टिप्पणीहरु आएका छन् ।

उनले स्थापना गरेको एमडीसी पार्टीले पूर्वराष्ट्रपति रोबर्ट मुगाबे सत्तामा रहेका बेला निरन्तर चुनौतीको सामाना गर्नुपरेको थियो ।  मुगाबेको सत्ताको क्रममा चाङ्गिराइ र उनका समर्थकहरूले कैयौँ वर्षसम्म मुद्दा खेप्नु परेको थियो ।

उनले पूर्व राष्ट्रपति मुगाबेविरूद्ध लामो राजनीतिक संघर्ष गर्नुपरेको थियो । सन् २००८ मा गठबन्धन सरकारमा सहभागी हुने उनको निर्णयले वर्षौँदेखिको उच्च मुद्रास्फितिपछि देशको अर्थतन्त्रलाई स्थिर बनाउन सघाएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस