२०८२ साल लागेसँगै पुँजी बजारमा उत्साह, सातामा १९.३४ अंकले वृद्धि

सफल खबर संवाददाता

शुक्रबार, ०५ बैशाख २०८२, १३ : २२
२०८२ साल लागेसँगै पुँजी बजारमा उत्साह, सातामा १९.३४ अंकले वृद्धि

काठमाडौँ । नयाँ वर्ष २०८२ लागेसँगै नेपाली पुँजीबजार मापक नेप्से परिसूचकमा उत्साह देखिएको छ । नयाँ वर्ष लागेसँगै कारोबार भएको तीन दिन नेप्से परिसूचक निरन्तर रूपमा वृद्धि भएर लगानीकर्तामा उत्साह थपिएको हो ।

यो साता नेप्से परिसूचक  १९.३४ अंकले बढेको छ । अघिल्लो साता ३२.६९ अंकले घटेर २७०३.३९ विन्दुमा रहेको नेप्से परिसूचक यो साता १९.३४ अंकले बढेर २७२२.७३ अंकमा पुगेको हो । यो साता दुई वर्षमा विभाजन भएको छ । साताको पहिलो कारोबार २०८१ को अन्तिम कारोबार भएको थियो भने साताको दोस्रो कारोबार २०८२को वैशाख २ गते भएको थियो ।

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिनमात्रै बजार घटेर बन्द भएको थियो। साताको पहिलो कारोबार अर्थात् २०८१ को अन्तिम दिन आइतबार नेप्से ८.८४ अंकले घटेको थियो ।

नेप्से परिसूचक घटेर २ हजार ६६१ दशमलव ८६ बिन्दुमा पुगेको थियो । यस दिन १ करोड ३१ लाख ८९ हजार कित्ता सेयर ६ अर्ब २८ करोड २९ लाख बराबरको कारोबार भएको थियो ।

मंगलवार नेप्से २७.१४ अंक बढेर २६८९.२२ विन्दुमा बन्द आएको थियो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ४.०७ अंक बढेको छ भने फ्लोट इन्डेक्स १.९९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.४१ अंक बढेको थियो नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको थियो । जुन दिन कारोबारमा आएका ३२० कम्पनीको २ करोड १८ लाख ४१ हजार कित्ता शेयर ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । 

बुधवार सेयर बजार परिसूचक नेप्से ७.०१ अंकले वृद्धि भई २६९६.२३ बिन्दुमा पुगेको थियो । बुधवार नेप्से बढेपनि कारोबार भने घटेको थियो । मंगलबार ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएकोमा बुधवार १ करोड ६६ लाख ११ हजार ५३२ कित्ता शेयर ७ अर्ब २६ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।  

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २६.४९ अंक बढेर २७२२.७३ विन्दुमा पुगेको छ । त्यस्तै,  सेन्सेटिभ इन्डेक्स ६.३९ अंक बढेको छ भने फ्लोट इन्डेक्स १.८८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.०३ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। बुधवार ७ अर्ब २६ करोडको शेयर खरिदबिक्री भएको बजारमा बिहीवार ३११ कम्पनीको २ करोड ३७ लाख ७३ हजार कित्ता शेयर १० अर्ब ७९ करोड ७३ लाख ६३ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औसतममा ५ अर्ब ६५ करोडको शेयर खरिदबिक्री भएको बजार यो साता १० अर्बसम्म कारोबार भएको छ । साताको पहिलो कारोबारका दिन ६ अर्बको कारोबार भएको थियो भने अन्तिम कारोबारको दिन १० अर्ब कारोबार भएको छ ।   

यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ३९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण ८७ अर्बले बढेर ४५ खर्ब २६ अर्ब रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस