काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनए उच्चस्तरीय समितिले मे ३–५ मा काठमाडौँमा आयोजना गर्न लागेको एकता महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
सदस्यता वितरणको काम सम्पन्न भए पछि अहिले पूर्णरुपमा डेलिगेट्स (प्रतिनिधि) छनोटको काममा व्यस्त रहेको सचिवालयले जनाएको छ ।यही अप्रिल २२ तारिख (नेपालको समय राती १२ बजे सम्म) सचिवालयको वेबसाइटमा गएर आवेदन दिन सकिने उच्चस्तरीय समितिकी प्रचारप्रसार संयोजक रविना थापाले जानकारी दिइन् ।
उनले भनिन्, ‘सदस्यतामा उत्साहजनक सहभागिता रहेको छ, डेलिगेट्समा पनि साथीहरूले आवेदन दिइरहनु भएको छ, समय अझै बाँकी रहेकाले पक्कै डेलिगेट्समा सङ्ख्या बढ्छ भन्ने हाम्रो अपेक्षा हो ।
अहिलेसम्म झन्डै १४ सय जनाले डेलिगेट्समा आवेदन दिएका छन् । उनीहरूको कागजात जाँच गरेर उच्चस्तरीय समितिले उक्त सूची निर्वाचन समितिलाई हस्तान्तरण गर्ने छ। निर्वाचन समितिलाई अधिवेशनको ५ दिन अघि सूची बुझाउने गरी काम अघि बढेको समितिको भनाइ छ ।
सर्वोच्च अदालतको परमादेश अनुसार गठित उच्चस्तरीय समितिलाई एकताको महाधिवेशन गर्ने जिम्मेवारी रहेको छ । एकता महाधिवेशनका लागि नयाँ कार्यसमिति (अन्तर्राष्ट्रिय समन्वय परिषद् ) निर्वाचित गर्नका लागि निर्वाचन समिति गठन भई सकेको छ।
वरिष्ठ अधिवक्ता गोपाल कृष्ण घिमिरेको संयोजकत्वमा गठित निर्वाचन समितिमा सेवा निवृत्त मेजर डमर घले तथा अधिवक्ता आशीष उप्रेती सदस्य रहेका छन् ।
यसै गरी संघका पूर्व अध्यक्ष तथा उच्चस्तरीय समितिका सदस्य देवमान हिराचनको संयोजकत्वमा निर्वाचन अनुगमन समिति पनि गठन गरिएको छ।
अधिवेशनका लागि समितिले भेन्यु तय गरिसकेको छ । एकताको अधिवेशनको होटेल हायातमा उद्घाटन हुने छ भने निर्वाचनको कार्यक्रम याक एन्ड यति होटेलमा आयोजना गरिने समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ बैशाख २०८२, १३ : १३
लेखकबाट थप