तीन घण्टाकै बिचमा माधव नेपालले किन भेटे ओलीलाई पटक–पटक ?

सफल खबर संवाददाता

बुधबार, १४ फागुन २०७६, ०८ : ४९
तीन घण्टाकै बिचमा माधव नेपालले किन भेटे ओलीलाई पटक–पटक ?

काठमाडौं । नेकपाभित्र कुन बेला कस्तो समिकरण बन्छ ? अहिले कसैलाई थाहा छैन । प्रधानमन्त्री केपी ओली गत पुस २३ यता पार्टीभित्रै कमजोर बनेपछि उनले पार्टीका पूर्व एमाले नेताहरुलाई फकाउने, गलाउने र तर्साउने तिनै थरी निति अवलम्बन गर्न खोजिरहेका छन् ।

सकभर गलाउने, नभए फकाउने र त्यसो पनि हुन नसके तर्साउने नीतिमा प्रधानमन्त्री ओली देखिएका छन् । सभामुख चयन प्रक्रिया, एमसीसी सम्झौता देखि अहिले संविधान संसोधन कार्यदल निर्माण सम्ममा उनी पार्टीमा ‘भोटिङ’ मा नगएपनि अल्पमतमा छन भन्दा हुन्छ ।

प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा (बादल) सम्म एकातिर मिल्दा सचिवालयमा अहिले प्रधानमन्त्री ओली अल्पमतमा छन् । उनलाई सचिवालय सदस्य इश्वर पाखेरेलको मात्र साथ देखिन्छ । महासचिव विष्णु पौडेल पनि कतिपय विषयमा मौनता साधिरहेको छन् ।

यही बिच ओलीलाई पूर्व एमाले समुहलाई मिलाएर अगाडी बढ्न तत्कालिन एमाले पङक्तिका कतिपय नेताहरुले दबाब बढाईरहेका छन् । ओलीले पनि त्यही रणनीति अनुसार सकभर पूर्व एमालेका नेताहरुलाई मिलाउन कोसिस गरिरहेका छन् । उनले खासगरी वामदेव गौतम, झलनाथ खनाल र माधव नेपाललाई आफुसँगै मिलाउन निक्कै कोसिस गर्न थालेका छन् ।

त्यही क्रममा उनले मंगलवार (हिजो) मात्रै वरिष्ठ नेता माधव नेपाललाई तीन घण्टा को बीचमा दुई पटक भेट गरेका छन् । दिँउसो ३ बजे बालुवाटारमा ओलीको निम्तोमा प्रधानमन्त्रीलाई भेट्न नेपाल पुगेका थिए । त्यहाँ उनले झण्डै पौने घण्टा नेपालले छलफल गरेका थिए ।

तर दुई नेताका बीचमा मात्र भएका छलफलका विषय के थिए भन्ने विषयमा दुवै नेताका सचिवालय मौन बसेका छन् । त्यसपछि बाहिरिएका नेपाल सिधै प्रचण्ड निवास खुमलटार पुगे । त्यहँ उनले पार्टीका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता खनाल र उपाध्यक्ष वामदेवसँग केही समय छलफल गरे । प्रचण्ड निवासमा छलफलमा रहदै गर्दा नेपाललाई फेरि बालुवाटाराबाटै फोन आयो । उनलाई फेरि छलफलका लागि भन्दै बालुवाटार बोलाइयो । उनी साँझ ६ वजे फेरि बालुवाटार पुगे ।

बालुवाटार निकट स्रोतका अनुसार त्यसपछि भने नेपालले ओलीसँग झण्डै दुई घण्टा छलफल गरे । उनी साँझ ८ बजे मात्र त्यसपछि बालुवाटारवाट बाहिरिएका थिए । नेकपाको आज बिहान सचिवालय बैठक बोलाइएको छ । सचिवालय बैठकले वामदेव गौतमको राष्ट्रिय सभा जाने नजाने विषय देखि संविधान संसोधन र एमसीसी सम्झौता सम्मका विषयमा निर्णय लिनुपर्ने कार्यसूचि छ ।

यस्तो जटिल विषयहरुमा छलफल गर्न सचिवालय बैठक बोलाईएको पूर्वसन्ध्यामा ओलीले नेपाललाई तीन घण्टाको बीचमा किन पटक पटक भेट गरे भन्ने विषय अहिले नेकपा नेताहरुका बीचमा चर्चा छ ।

दुवै नेता र नेताका सचिवालयले पनि भेटको पुष्टि गरेपनि त्यसक्रममा भएका छलफलका विषय सार्वजनिक गरेका छैनन् । यसले पनि दुई नेताका बीचको छलफल रहस्यको विषय छ । सचिवालयमा आज देखिने नेताहरुका अभिब्यक्ति र लिइने निर्णयले नेकपाभित्र ओली नेपाल बीचको मंगलवारको पटक पटकको छलफलका विषय खुल्न सक्ने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस