यसरी ल्याइँदैछ नेपालीलाई चीनको बुहानबाट भक्तपुरको खरिपाटीसम्म

सफल खबर संवाददाता

शनिबार, ०३ फागुन २०७६, १६ : ०४
यसरी ल्याइँदैछ नेपालीलाई चीनको बुहानबाट भक्तपुरको खरिपाटीसम्म

काठमाडौं । चीनको हुवेई प्रान्तबाट नेपालीहरुलाई देश ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । कोरोना भाइरस कोभिड–१९ को संक्रमणको इपिसेन्टर मानिएको सरकारले नेपाल वायुसेवा निगमको एउटा विमानमा नेपाली विद्यार्थीहरुलाई काठमाडौँ ल्याइँदैछ । 

विमान आइतबार विहान २ः१५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा अवतरण हुनेछ । चीनबाट १८७ जना नेपालीहरुलाई ल्याउने तयारी भएको हो । २७४ यात्रु बोक्न सक्ने उक्त विमानमा नेपाली सेनाका विशेष तालिमप्राप्त चार चिकित्सक पनि रहनेछन् । चालक दलका सदस्यमा तीन क्याप्टेन,छ क्याबिन क्रू, एक इन्जिनियर र एक लोडमास्टर गरी ११ जना रहनेछन् ।

विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड अनुसार सबै प्रक्रिया पूरा गरेर उनीहरू सबैलाई पठाउन लागेको निगमले जनाएको छ । चालकदलका सबै सदस्य र चिकित्सकले स्वास्थ्यसम्बन्धी तालिम पनि लिएका छन् भने भाइरस सङ्क्रमणबाट बच्नका लागि सुरक्षात्मक उपायहरू पनि अपनाइनेछ । वुहानमा पुगेपछि सबै नेपालीहरू विमानमा प्रवेश गरेपछि मात्र अन्तिममा चिकित्सा टोलीका चार जना विमानमा प्रवेश गर्नेछन् । नेपालमा विमान अवतरण भएपछि पनि सुरुमा उक्त टोलीका सदस्यहरू नै सबैभन्दा पहिले ओर्लिनेछन् ।

नेपालीहरूलाई विश्वविद्यालयबाट विमानस्थलसम्म ल्याउँन बेइजिङस्थित नेपाली दूतावासले सवारीसाधनको व्यवस्था गरेको छ । उनीहरूलाई विश्वविद्यालयबाट सङ्क्रमण नहुने खालको मास्क र ज्याकेटआदि पोसाक प्रयोग गरेर सुरक्षित रूपमा मात्र सवारी साधनमा राखिनेछ ।

विश्वविद्यालयबाट निस्कनुअघि र विमानस्थलमा आइपुगेपछि पनि उनीहरूमा सङ्क्रमण रहेको वा नरहेको भन्ने परीक्षण गर्ने व्यवस्था गरिएको छ । दूतावासले स्वदेश फर्किन चाहनेहरूलाई बुधवार नै एउटा सर्तनामा भराएको छ भने बिहीवार उनीहरूलाई यात्राको विवरण पठाएको छ।

दूतावासले विद्यार्थीहरूलाई अत्यावश्यक सामग्री मात्र बोकेर आउन सूचित गरेको छ । उनीहरूले २० किलो लगेज र पाँच किलोसम्म ह्यान्डक्यारी बोक्न पाउनेछन् । वुहानस्थित विमानस्थलमा आइपुगेपछि उनीहरूको शरीरको तापक्रम नापेर मात्र विमानमा बस्न दिइनेछ ।

त्यसपछि विमानमा पनि उनीहरूलाई चिकित्सा टोलीले निरन्तर निगरानी गर्नेछ । विमानमा चालकदलका सदस्यले पनि सुरक्षात्मक ज्याकेट र मास्क लगाएर उडान गर्नेछन् । विमानस्थलमा आइपुगेपछि चिकित्सक, चालक दलका सदस्यहरू र हुबेबाट फर्केका सबै जनाले विमानस्थलमा स्थापना गरिएको स्वास्थ्य निगरानी कक्षमा गएर पुनस् तापक्रम मापन प्रक्रिया पूरा गरे पछिमात्र उनिहरुलाई विमानस्थलबाट भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा लगिने छ ।

प्रतिक्रिया दिनुहोस