माओवादीका भट्टलाई ७ नं प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न दावी पेश गरिँदै

बुधबार, ०२ फागुन २०७४, १६ : ४४
माओवादीका भट्टलाई ७ नं प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न दावी पेश गरिँदै

धनगढी । ७ नम्बर प्रदेशको मुख्यमन्त्रीमा त्रिलोचन भट्टलाई नियुक्त गर्न नेकपा माओवादी केन्द्र र नेकपा एमालेका प्रदेश सदस्यले आजै प्रदेश प्रमुखसमक्ष दावी पेश गर्ने तयारी गरेका छन् ।

प्रदेश प्रमुखले मुख्यमन्त्री चयनका लागि फागुन ४ गते दिउँसो ११ बजेभित्र बहुमत जुटाएर दावी पेश गर्न आव्हान गरेका थिए ।

आजै अपरान्ह ४ बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गर्ने तयारी भइरहेको नेकपा माओवादी केन्द्र ७ नम्बर प्रदेश प्रचारप्रसार विभाग प्रमुख ओमविक्रम भाट ‘सरल’ले बताए । ‘एमाले र माओवादी केन्द्रका सबै प्रदेश सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष दावी पेश गरिने छ,’ भाटले भने ।

आजै प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव हिरालाल चौधरीले मुख्यमन्त्री चयनका लागि आवश्यक बहुमत कुनै पार्टीको नपुगेकाले बहुमत सदस्यको समर्थन लिएर मुख्यमन्त्री दावी गर्न आउन पत्र लेखेका थिए ।

वाम गठबन्धनबाट एमाले र माओवादीको समर्थनमा त्रिलोचन भट्ट मुख्यमन्त्री हुने यसअघि नै निर्णय भइसकेको थियो ।

 

प्रतिक्रिया दिनुहोस