नगरपालिकाको कार्यालय सारेको निहुँमा झडप हुदा एक दर्जनभन्दा बढी घाइते

बुधबार, ०२ फागुन २०७४, १६ : २९
नगरपालिकाको कार्यालय सारेको निहुँमा झडप हुदा एक दर्जनभन्दा बढी घाइते


रौतहट–नगरपालिकाको कार्यालय  सारेको निहुँमा आज स्थानीयबासी र प्रहरीबीच झडप हुदा एक दर्जनभन्दा बढी प्रहरी र सोही संख्यामा स्थानीयवासीहरु घाइते भएका छन् ।  

रौतहटको बृन्दाबन नगरपालिकाको कार्यालय सारेको निहुँमा आज स्थानीयबासी र प्रहरीबीच झडप भएको हो ।

बृन्दाबन नगरपालिकाको कार्यालय वडा नम्बर २ स्थित विश्रामपुर गाउँबाट वडा नम्बर ३ स्थित हर्षचोकमा सार्ने मेयर रामसिनही यादवको निर्णयविरुद्ध स्थानीयवासीले आक्रोश पोखेका हुन् । केही दिनअघि मेयर यादवले नगर कार्यालयलाई हर्षचोकमा सार्ने निर्णय गरेका थिए ।

कार्यालय सारेलगत्तै स्थानीयबासीले सो कार्यालयमा तालाबन्दी गरेका थिए । स्थानीय बासिन्दाको विरोधकै बीचमा मेयर यादवले आज प्रहरीको रोहबरमा तालाबन्दी फुटाउन खोज्दा दुई पक्षबीच झडप भएको स्थानीयबासीको भनाई छ । प्रहरीसहित कार्यालय पुगेका मेयर यादवमाथि स्थानीयबासीले ढुंगामुढा समेत गरेका छन् ।

दुई पक्षबीचको झडपले उग्र रुप लिन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले डेढ दर्जन अश्रु ग्यास प्रहार गरिएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी रामकुमार डानीले बताए ।

स्थितिलाई साम्य पार्न बसेको दुई पक्षीय बैठकले नगरपालिका कार्यालय नसार्ने निणय गरेपछि अहिले स्थिति सामान्य हुँदै गएको छ । 

प्रतिक्रिया दिनुहोस