काठमाडौँ । जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थल र सरकारी जग्गाहरु स्थानीयवासीको अतिक्रमणको चपेटामा परेको पाइएको छ । विश्व प्रसिद्ध हलेसी (हलेश्वर महादेव), बराहपोखरीको (शङ्खेश्वरी महादेव), बुद्धेश्वर महादेव, रुपाकोट, मझुवागढीलगायत धार्मिक तथा पर्यटकीयस्थल र सरकारी जग्गा स्थानीयवासीले अतिक्रमण गरेको पाइएको हो ।
हलेश्वर महादेवको नाममा रहेको हलेसी तुवाचुङ नगरपालिकाको हलेसी, माल्कु, गैरीगुठ, डाँडागुठलगायतको जग्गा स्थानीयवासीले कब्जा जमाएपछि गुरुयोजना निर्माणमा अवरोध भएको नगरप्रमुख इवन राईले बताउनुभयो । “स्थानीयवासीले जग्गा कब्जा गरेपछि हलेसीको बृहत्तर विकासमा समस्या आएको छ”, उहाँले भन्नुभयो, “हलेसीको बृहत् गुरुयोजनामा हलेसी गुफा आसपासका २०० मिटर वरिपरिको जग्गा आवश्यक पर्छ । स्थानीयको अवरोधका कारण गुरुयोजना निर्माणमा अवरोध भएको छ ।”
हलेसी विकास समितिका निर्देशक समरबहादुर भुजेलका अनुसार २०४४ सालमा तत्कालीन राजा वीरेन्द्रको भ्रमणका बेला गुरुयोजना बनाएर निश्चित क्षेत्रभित्र भएका विभिन्न आठ वटा घर तथा घडेरीलाई मुआब्जा दिइएको थियो । यद्यपि, जग्गाको मुआब्जा लिएर पनि स्थानीयवासीले अहिलेसम्म घरजग्गा खाली गरेका छैनन् ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरी गाउँपालिकाको बराहताल (शङ्खेश्वरी महादेव)को नाममा भएको जग्गा पनि स्थानीयको अतिक्रमणमा परेको छ । स्थानीयवासीले जग्गा अतिक्रमण गरेर घरटहरा निर्माण गरेपछि धार्मिक तथा पर्यटकीयस्थल बराहतालको विकासमा स्थानीय बाधक बनेका छन् ।
स्थानीयवासीले बराहतालको नाममाको जग्गा कब्जा गरेर बसोबास गर्नाले बराहतालको चौतर्फी विकास गर्न निर्माण गरिएको बृहत् गुरुयोजना कार्यान्वयनमा समस्या बनेको बराहपोखरी गाउँपालिकाका उपप्रमुख गोमा मगरले बताउनुभयो । “बराहताल वरिपरि शङ्खेश्वरी गुठी तथा सार्वजनिक जग्गा मिचेर २४ वटा घर–टहरा बनाएका छन्”, उहाँले भन्नुभयो, “अतिक्रमित जग्गामा निर्माण गरिएका घर–टहरा हटाउन छ महिने, तीन महिने, एक महिने, १५ दिने र सात दिने सूचना जारी गरिसक्दासमेत स्थानीयवासीले अटेर गरेपछि थप समस्या भएको छ ।”
स्थानीयवासीले आफ्नो नाममा दर्ता गरेको करिब ५५ रोपनी जग्गा मालपोत कार्यालय खोटाङले विसं २०४७ सालमै फिर्ता गर्न फैसला गरेर आदेश दिए पनि अझै फिर्ता नगरेको बराहपोखरी पर्यटन विकास समितिका अध्यक्ष देवीप्रसाद रेग्मीले बताउनुभयो । बृहत् गुरुयोजनामा बराहताल आसपासमा मन्दिर, विभिन्न जातजातिको सङ्ग्रहालय, बसपार्क, बृद्धाश्रम, कुटी, जाग्रामस्थललगायतका विभिन्न भौतिक संरचना निर्माणमा समस्या आएको जनाइएको छ ।
यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यापर्यटनको केन्द्र रुपाकोटको जग्गा पनि स्थानीयले अतिक्रमण गरेका छन् । बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने रुपाकोटको जग्गा अतिक्रमण भएको थाहा पाएपछि त्यसबारे अख्तियारमा उजुरीसमेत परेको छ । वडा नम्बर १ का लेखनाथ आचार्य र गोविन्दराज आचार्यको नाममा पानीको मुहानसहित करिब ८० रोपनीभन्दा बढी जग्गा दर्ता गरेको खुलासा भएपछि अख्तियारमा उजुरी परेको हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजार नजिक पर्ने धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी क्षेत्रमा पर्ने बुद्धेश्वर गुफा, कालिका भगवती मन्दिर आसपासको जग्गा पनि व्यक्तिको नाममा दर्ता भएको पाइएको छ । मझुवागढीको नाममा रहेको जग्गा पनि अतिक्रमण भएको थाहा पाएपछि अख्तियारमा उजुरी परेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो ।
मझुवागढी क्षेत्रमा बुद्धेश्वर महादेव गुठीको नाममा (कित्ता नं १०२) १० रोपनी चार आना तीन पैसा तीन दाम र देवीस्थान सामुदायिक वनको नाममा २६९ रोपनी चार आना दुई दाम एक पैसा देखिन्छ । नगरपालिकाको प्राविधिक टोलीको प्रतिवेदनअनुसार सशस्त्र प्रहरी बल हलेसी गुल्मको नाममा पनि थुप्रै जग्गा देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २६ माघ २०७६, २१ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरको जग्गा अतिक्रमण गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग