चितवन । भरतपुरको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग जुटाउन जारी धनधान्यान्चल महोत्सवमा मंगलवार पनि सहयोग जुट्ने क्रम जारी छ । महायज्ञ अन्तर्गत तेश्रो दिन मंगलबार नेपाल महिला संघ चितवनले धनधान्यान्चल महोत्सव मार्फत रंगशाला निर्माण लागि रु १ लाख ५१ हजार आर्थिक सहयोग गरेको छ । संघकी अध्यक्ष समेत रहेकी भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाहले उक्त रकम घोषणा गरेकी हुन् ।
सहयोग घोषणा गर्दै शाहले सबैलाई यो अभियान सफल बनाउन एक जुट हुन आग्रह गरिन् । रंगशाला निर्माण अभियान सम्पूर्ण नेपालीको साझा अभियान भएको उनको भनाई थियो । उनले धनधान्यान्चल सफल बनाउन महिलाहरुको भूमिका महत्वपुर्ण हुने बताईन् । यस्तै आज बिहानदेखी नै बिभिन्न संघ संस्था तथा व्यक्तीहरुले सहयोग गरिरहेका छन् ।
त्यस्तै आजै राष्ट्रिय सभा सदस्य सांसद कोमल ओली, स्थानीय कलाकार सरिता श्रेष्ठ गुरुङले समेत आफ्नो प्रस्तुति दिएका थिए । कार्यक्रममा बिभिन्न वडाका महिला सदस्य, चिकित्सा क्षेत्रका महिलाहरु, महिला उद्यमी, महिला पत्रकार लगायतको उपस्थिती रहेको छ । आजको कार्यक्रम मातृशक्ती परिचालन समिति संयोजक समेत रहेकी राष्ट्रिय सभा सदस्य तथा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल ‘पार्वती’ को अध्यक्षमा शुरु भएको हो ।
रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी धनधान्याचल महोत्सव शुरु भएको छ । महोत्सवमा पण्डित दिनवन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहेका छन् । २६ गतेसम्म चल्ने महोत्सवबाट ५० करोड उठाउने लक्ष्य रहेको छ । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजनासहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ माघ २०७६, १९ : २८
लेखकबाट थप