काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीस्थित अञ्चल कार्यालयको गोदाममा कुहिएको ४ सय ८७ क्विन्टल २२ किलोग्राम बासमती चामल प्रशोधन गरेर बिक्री गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन कुरिरहेको छ ।
खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले कुहिएको चामल पुरै नष्ट गर्न नदिइने बताए । उनले राजधानीसँग भने, ‘अहिले अख्तियारले छानबिन गरिरहेको छ, यसकारण हामीले केही चलाएका छैनौं, छानबिनपछि चामल प्रशोधन गरेर पशुदानाका लागि भए पनि प्रयोगमा ल्याउने योजना छ ।’
अख्तियार दुरुपयोग आयोगको निर्देशनलगत्तै चामल प्रशोधन गर्ने उनको भनाइ छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य कम्पनी गोदाममा कुहिएको चामलमाथि छानबिन सुरु गरेको दुई महिनासम्म कुनै कारबाही गर्न सकेको छैन ।
आयोगले ३ मंसिरमा राजधानी दैनिकमा ‘खाद्यका कर्मचारीको चरम लापर्वाहीका कारण गोदाममै कुहियो लाखौं मूल्यको चामल’ शीर्षकमा प्रकाशित समाचारलाई लिएर छानबिन सुरु गरेको थियो । अख्तियारले छानबिनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ९ मंसिरमा पत्र पठाएको थियो । पत्रमा कम्पनीलाई गोदाममा रहेको चामलको वार्षिक खरिद–बिक्री विवरण र कुहिएको चामलको किसिम र परिमाण तत्काल बुझाउन निर्देशन दिएको थियो ।
यसैगरी, गोदाममा मौज्दात अन्य खाद्यवस्तुको विवरण, अवस्था र गुणस्तर प्रमाणपत्रसहित उपलब्ध गराउन अख्तियारले कम्पनीलाई निर्देशन दिएको थियो । निर्देशनअनुसार खाद्य कम्पनीले अख्तियारलाई सबै कागजपत्रसमेत बुझाइसकेको छ । तर, अख्तियारले लापर्वाही गर्ने कर्मचारीलाई अहिलेसम्म पनि कारबाही गर्न सकेको छैन ।
गोदाममै कुहिएको चामलको छानबिनकै लागि अख्तियारले गोदामबाट चामल लिएर १० वटा नमुना गुणस्तर जाँचका लागि गत ७ पुसमा खाद्य प्रविधि गुण नियन्त्रण विभागमा पठाएको थियो । विभागले गत १६ पुसमै १० वटा नमुना नै गुणस्तर फेल भएको रिपोर्ट पठाइसकेको छ ।
चामलको मापदण्डअनुसार खानयोग्य हुन सुक्खा, सफा र सग्लो भई रंगमा एकरूपता भएको हुनुपर्छ । ढुसी, कीरा नलागेको, कृत्रिम र रंग गरिएको हुनुहँुदैन । तर, चेकजाँचका लागि ल्याइएको १० नमुनामा एउटा पनि उपयुक्त भएको पाइएको छैन । खाद्य विभागका अनुसार अख्तियारले ल्याएको १० वटा नमुनामै ढुसी, कीरा र कृत्रिम रंग छ ।
यस्तो चामल नष्ट गर्नुबाहेक विकल्प नभएको विभागले प्रस्ट पारिसकेको छ । स्रोतका अनुसार गोदाममा थन्किएको ४ सय ८७ क्विन्टल २२ केजी बासमती चामल नष्ट गर्नुपर्दा खाद्य कम्पनीका जिम्मेवार कर्मचारीले क्षतिपूर्ति बेहोरेकाले वैकल्पिक प्रयोगका लागि अख्तियार गुहारिएको हो ।
कारबाहीमुक्त हुन चामलको गुणस्तर चेकजाँच गर्दा ‘वैकल्पिक हुन्छ किन ?’ भनेर खाद्य कम्पनीले खेल खेलेको स्रोतको दाबी छ ।र्मचारीको चरम लापर्वाहीका कारण थापाथलीस्थित अञ्चल कार्यालय गोदाम नम्बर २४ मा ३ सय २३.१७ क्विन्टल र ३० नम्बर गोदाममा १ सय ६४.०५ क्विन्टल बासमती चामल कुहिएको स्रोतले बतायो । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, २० माघ २०७६, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिजनमै धान तथा चामल आयात, महिना दिनमा २ अर्ब रुपैयाँ खर्च
‘गौरिया’ चामलको माग बढ्दो, खेती घट्दो
भारतबाट चामल खरिद गर्न २० वटा व्यापारिक संस्था छनोट
हुम्लामा आयो पोषणयुक्त चामल
दुई लाख ७७ हजार क्विन्टल चामल किन्न फेरि टेन्डर
१४ हजार क्विन्टल चामल खरिदका लागि खाद्य व्यवस्था छान्यो आपूर्तिकर्ता