सौराहा फूड फेस्टिबलमा भ्याट बिल अनिवार्य

सफल खबर संवाददाता

बुधबार, १५ माघ २०७६, १६ : ४७
सौराहा फूड फेस्टिबलमा भ्याट बिल अनिवार्य

चितवन । रत्ननगर नगरपालिका वडा नम्बर ७, सिसुवारमा माघ २८ गतेदेखि पाँच दिनसम्म चौधौँ सौराहा फूड फेस्टिबल हुने भएको छ । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन सौराहाको आयोजना हुन गइरहेको फूड फेस्टिबलमा स्टल राख्नेहरुले क्रेतालाई अनिवार्य रुपमा भ्याट बिल दिनु पर्ने आयोजकको भनाइ छ ।

रेबान सौराहाले बुधबार सौराहामा पत्रकार सम्मेलनको आयोजना गरी फूड फेस्टिबलबारे जानकारी गराएको हो । रेबान सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाले सकभर भ्याट नभए पानमा दर्ता भएका व्यवसायीलाई मात्र स्टल दिइने बताए ।

रेबान सौराहामा ५६ वटा रेष्टुरेण्ट आवद्ध छन् । फूड फेस्टिबलमा खानेकुराका ४० वटा र अन्य पाँच वटा स्टल रहने फेस्टिबलका संयोजक ध्रुव गिरीले जानकारी दिए । फेस्टिबल सम्पन्न गर्न करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।खर्चको व्यवस्थापन प्रायोजक, स्टल भाडा र टिकट बिक्रीबाट गरिने संयोजक गिरीले बताए ।

भ्यालेन्टाइन डेलाई लक्षित गरी आयोजना गरिएको फूड फेस्टिबलमा हरेक दिन साँस्कृतिक कार्यक्रम हुनेछ । यसबाहेक विभिन्न मनोरञ्जनात्मक खेल पनि फेस्टिबलमा समावेश छन् । पत्रकार सम्मेलनका प्रमुख अतिथि रत्ननगर नगरपालिका प्रमुख नारायण वनले थारु सँस्कृति र खानामा जोड दिन आयोजकलाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस