विप्लव छोडेर कार्यकर्ता केन्द्रमा

मंगलबार, ०१ फागुन २०७४, १४ : ११
विप्लव छोडेर कार्यकर्ता केन्द्रमा

 

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक सय बढी नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार २३ औं जनयुद्ध दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उनीहरुलाई पार्टीमा प्रवेश गराएका हुन ।
प्रचण्डले रहर र लहडमा क्रान्ति नहुने भन्दै विप्लवलाई दिवास्वप्नबाट ब्यूँझन आग्रह गरे ।

विप्लवका साथै उनका गुरु भनेर चिनिएका मोहन वैद्यको नाम लिँदै उनले भने, ‘जनतादेखि भाग्ने अनि लुकेर छिपेर आफ्नो उद्देश्य भन्दै नभनी घटना घटाएर क्रान्ति हुन्छ भन्ने दिवास्वप्नाबाट ब्यूझन अपील गर्न चाहन्ँछु ।’

‘क्रान्ति रहर र लहडमा हुँदैन’ भन्नु अघि उनले लामो पृष्ठभूमि बाँधेर सशस्त्र विद्रोहको एजेण्डा थाती राखेर पञ्चायतविरुद्ध कांग्रेस, एमालेहरुसँग जनआन्दोलनमा सहभागी भएको तथा बहुदल आएपछि पनि संसदमा गएको सुनाएका थिए ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको सहयोगी संगठन योङ कम्युनिष्ट लिग (वाइसीएल) नेपालले आयोजना गरेको जनयुद्ध दिवसमा अध्यक्ष प्रचण्डले २३ किलोको केक काटेर कार्यकमको उद्घाटन गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस