प्योङयोङ । लोकतान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) को उच्चस्तरीय प्रतिनिधिमण्डल दक्षिण कोरियाबाट आइतबार राति स्वदेश फर्किएको छ ।
प्योङचाङ शीतकालीन ओलम्पिक प्रतियोगिता २०१८ को उद्घाटन समारोहमा सहभागी हुन आएको टोली उच्चस्तरीय भेटघाट गरेर आइतबार फर्किएका छन् ।
उत्तर कोरियाको संसद्का प्रमुख तथा देशको राजनीतिक प्रणालीअनुसार आलङ्कारिक राष्ट्रपतिसमेत मानिनुहुने किम योङ नामको नेतृत्वमा उच्चस्तरीय टोली शुक्रबार दक्षिण कोरिया आएको थियो ।
प्रतिनिधिमण्डलमा उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी तथा सत्तारुढ वर्कस् पार्टीको केन्द्रीय समितिको प्रथम उपनिर्देशक किम यो जोङ पनि सहभागी हुनुभएको थियो ।
उहाँहरु दुई जनासहितको चार सदस्यीय प्रतिनिधिमण्डलले शनिबार बिहान दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनलाई उहाँकै कार्यालय ब्लु हाउसमा भेटवार्ता गरेको थियो ।
उक्त भेटवार्ताका क्रममा उत्तर कोरियाका सर्वोच्च नेताकी बहिनी जोङले आफ्ना दाजु तथा सर्वोच्च नेता किम जोङ उनको निमन्त्रणा पत्र राष्ट्रपति मुनलाई हस्तान्तरण गर्नुभएको थियो ।
उत्तर कोरियाली प्रतिनिधिमण्डलमा सदस्य समेत रहनुभएकी जोङले हस्तान्तरण गरेको पत्रमा दुई कोरियाको सम्बन्ध सुधार्न चाहेको उल्लेख गरिएको राष्ट्रपति मुनका प्रवक्ता किम इउइ कीओनले जानकारी दिनुभयो ।
सर्वोच्च नेता किमले जति सक्दो चाँडो राष्ट्रपति मुनलाई भेट्ने चाहना राखेको किमकी बहिनी जोङले सो अवसरमा जानकारी गराउनुभएको थियो ।
राष्ट्रपति मुन र भ्रमण टोलीकाबीचमा अनौपचारिक कुराकानी भएका बेला जोङले सर्वोच्च नेताको निमन्त्रणाको कुरा गर्नुभएको हो । यी दुई कोरियाको इतिहासमा यति उच्च तहको सरकारी प्रतिनिधिमण्डलबाट गरिएको यो धेरै लामो समयपछिको भ्रमण र भेटवार्ता हो ।(रासस/सिन्ह्वा)
प्रतिक्रिया दिनुहोस