चितवन । नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले नेपालको स्वास्थ्य क्षेत्रमा चीन सरकारको सहयोग निरन्तर रहने बताउनुभएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आज चिनियाँ मेडिकल सहयोगको २०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी दिनमा अस्पतालको स्तरोन्नति र विकासमा सहयोग गर्न चीन दृढ रहेको बताउनुभयो ।
चीन सरकारले अस्पताल बनाउन सहयोग गरेको र त्यसपछि निरन्तर सहयोग गर्न पाएकामा खुशी प्रकट गर्दै उहाँले नेपाली जनतालाई अर्बुद रोगको उच्चस्तरको उपचार दिन चिनियाँ चिकित्सक समूह सधँै प्रतिबद्ध भएको बताउनुभयो । अस्पताल स्थापनापछि चिनियाँ चिकित्सक समूहलाई अस्पतालका चिकित्सक कर्मचारीले गरेको सहयोग र समन्वयप्रति उहाँले आभार प्रकट गर्नुभयो । सो अवसरमा राजदूत होउले अस्पताललाई भिडियो एक्सरे र शल्यचिकित्सा उपकरण तथा अर्बुदरोगीलाई आवश्यक पर्ने औषधि उपलव्ध गराउनुभएको थियो ।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यले अस्पतालको अहिलेको अवस्था र भावी योजनाबारे जानकारी दिँदै चिनियाँ सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । विसं २०५७ देखि सञ्चालनमा आएको सो अस्पताल चीन सरकारले निर्माण गरेको हो ।
अस्पतालका उपनिर्देशक डा निर्मल लामिछानेका अनुसार अस्पताल स्थापना भएयता निरन्तर रुपमा १४ चिनियाँ चिकित्सक र दुई सहयोगी यहाँ रहँदै आएका छन् । उनीहरुको तलबभत्ता चीन सरकारले बेहोर्दै आएको छ । शुरुमा एक सय श्यया रहेको क्यान्सर अस्पतालमा हाल ४५० श्यया छ । गत वर्ष एक लाख ३१ हजार बिरामीले अस्पतालबाट सेवा लिएका थिए । अस्पतालमा उपचारका लागि नेपाल र भारतका सीमा क्षेत्रबाट बिरामी आउने गर्छन् । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २९ पुस २०७६, १७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपप्रधानमन्त्री सिंह र चिनियाँ राजदूतबिच भेटवार्ता
परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ राजदूतबीच भेटवार्ता
झलनाथ खनाल र चिनियाँ राजदूतबीच भेटघाट