उपप्रधानमन्त्री सिंह र चिनियाँ राजदूतबिच भेटवार्ता

सफल खबर संवाददाता

विहीबार, ०३ साउन २०८१, १४ : ११
उपप्रधानमन्त्री सिंह र चिनियाँ राजदूतबिच भेटवार्ता

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गबिच आज भेटवार्ता भएको छ । भेटमा चीनका तर्फबाट राजदूत ले उपप्रधान एवं सहरी विकास मन्त्री सिंहलाई बधाई सहित कार्यकाल सफलताको शुभकामना दिए । 

भेटमा नेपाल र चीन बिचमा सहरी विकासको क्षेत्रमा के–के विषयमा सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।‘नेपाल र चीनका बिचमा सहरी विकासको क्षेत्रमा कुन कुन विषयमा सहकार्य हुनसक्छ । अहिले के भइरहेको छ भन्नेबारेमा सामान्य समीक्षा भयो’  सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भने,  ‘हामीले स्मार्ट सिटी बनाउने भनेका छौँ । स्मार्ट सिटी बनाउने क्रममा प्रविधिसँग त्यसलाई कसरी जोड्न सक्छौँ । ट्राफिक लाइट, रोड सेफ्टीजस्ता कुरामा चीन सरकारले सहयोग गर्न सक्छ भन्ने कुरा भयो । हामीले चीनसँग सिमाना जोडिएका हिमाली क्षेत्रमा १० वटा हिमाली सहर बनाउने भनेर राखेका छौँ । त्यसमा पनि चीन सरकारले सहयोग गर्न सक्छ भन्ने कुरा उहाँहरूले राख्नुभयो ।’ 

त्यस्तै रुकुम र जाजरकोटमा अघिल्लो वर्ष गएको भूकम्पपछिको पुन:निर्माणमा समेत सघाउन तयार रहेको राजदूतले भेटका क्रममा बताएका थिए ।

प्रतिक्रिया दिनुहोस