काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षअघि पदबहालीसँगै गृह मन्त्रालयमातहत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई आफूमातहत ल्याए । अहिले त्यही विभागलाई व्यवस्थित गर्न भनेर आम मानिसको व्यक्तिगत सूचना, टेलिफोन ट्यापिङको अधिकार अनुसन्धान अधिकारीलाई दिन खोजिएको छ ।
राष्ट्रिय सभामा दर्ता गरिएको ‘नेपाल विशेष सेवा विधेयक’ जस्ताको त्यस्तै पारित भए प्रधानमन्त्री वा सरकारले चाहे नेता, पत्रकार, लेखक वा सरकारको आलोचना गरिरहेका जोसुकै व्यक्तिविरुद्ध उक्त व्यवस्था दुरुपयोग हुने सम्भावना छ । त्यसैले उक्त विधेयकको प्रतिपक्ष कांग्रेससहित नागरिक स्तरबाट विरोध भइरहेको छ । प्रतिनिधिसभामा गत वर्ष दर्ता भएका शान्ति सुरक्षा र सुरक्षा परिषद्सम्बन्धी विधेयकमा पनि सरकारलाई थप शक्तिशाली बनाउन खोजिएको छ ।
विधेयकमा प्रमुख जिल्ला अधिकारीलाई कुनै भेलाले शान्ति सुरक्षामा असर पर्ने लागे रोक लगाउन सक्ने अधिकार तोकिएको छ । यसअघि कर्फ्यु लगाइएको समयमा तथा निषेधित क्षेत्र घोषणा गरिएका स्थानमा भेला गर्न नपाउने कानुनी व्यवस्था थियो । संघीय सरकारमातहतको जिल्लामा रहने प्रशासनिक अधिकारी प्रजिअलाई थप शक्तिशाली बनाउन अरू प्रावधान पनि राखिएका छन् ।
नेपाली सेनाको उपयोग र परिचालनसम्बन्धी विधेयकको दफा ६(३) मा भनिएको छ– गम्भीर राष्ट्रिय संकट उत्पन्न भए वा तत्काल सेना परिचालन नगरे त्यस्तो संकट उत्पन्न हुने देखिए र तत्काल परिषद्को बैठक बस्न सम्भव नभए अध्यक्षले सेना परिचालनका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्न सक्नेछ । संविधानअनुसार परिषद्को अध्यक्ष प्रधानमन्त्री हुन्छन् ।
सुरक्षा परिषद्को बैठक बस्न नसक्ने अवस्थाको अनुमान गरेर सेना परिचालनको अधिकार एकलौटी प्रधानमन्त्रीलाई दिन खोज्नुलाई सेनाका अधिकारीहरूले नै स्वाभाविक मानेका छैनन् । अनुशासनका कारण सैनिक अधिकारीहरूले मुख नखोले पनि पूर्वसैनिक अधिकारीहरूमार्फत त्यसको विरोध हुँदै आएको छ । विपक्षी कांग्रेसले त्यसमा आपत्ति जनाइसकेको छ । रक्षा मन्त्रालयले ल्याएको उक्त विधेयक विवादित बनेपछि प्रतिनिधिसभामा दर्ता भएको एक वर्ष हुन लाग्दा पनि अगाडि बढाइएको छैन ।
प्रधानमन्त्री तथा सरकारले एकातिर असीमित अधिकार आफूसँग राख्न खोजेको छ भने अर्कोतिर नागरिकका अधिकार संकुचित गराउने गरी एकपछि अर्को विधेयक ल्याएको छ । एक वर्षयता सदनमा ल्याइएका आधा दर्जन विधेयकमा शक्ति केन्द्रीकृत गर्ने र नागरिकको भेला हुन पाउने, अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मानव अधिकारलगायतका विषयका अधिकार कुण्ठित हुने प्रावधान छन् ।
पछिल्लो समय बढी चर्चामा रहेको सूचना प्रविधि विधेयकमा सरकारले नै सूचना प्रविधि अदालत गठन गर्ने, न्यायाधीश तोक्ने र त्यसमार्फत सामाजिक सञ्जालमार्फत भएका त्रुटिका आरोपमा आम मानिसलाई दण्डित गर्ने प्रावधान राखिएकामा बढी आलोचना भइरहेको छ । शक्ति पृथकीकरणको सिद्धान्तविपरीत अदालतसमेत सरकारमातहत राख्न खोजिएको छ । संविधानविद् भीमार्जुन आचार्य सरकार आफू नियन्त्रित अदालत, मिडिया र समाज निर्माणमा लागिपरेको बताउँछन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २४ पुस २०७६, ०८ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय प्रक्रियामा अघि बढ्यो नेपाल प्रहरी विधेयक
क्यान विभाजन विधेयक संसदमा
तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी प्रतिवेदन पेस
नागरिक उड्डयन प्राधिकरण टुक्राउने विधेयक प्रतिनिधिसभामा दर्ता
सामाजिक सञ्जाल नियमन विधेयक : कुन कसुरमा कस्तो सजाय प्रस्ताव ?
ट्रोल गर्नेलाई पाँच लाख जरिवाना गर्ने गरी सरकारले ल्यायो विधेयक