- काशीराम शर्मा
बाँके । रोजगारी नभएको भन्दै पछिल्लो समय थुप्रै युवा विदेश पलायन भइरहेका छन् तर बर्दियाका थारु समुदायका महिलाले घरमै रोजगारीको सिर्जना गरेका छन् । बर्दियाको बढैयाताल गाउँपालिका–६ भदैयाका थारु महिला घरमै व्यावसायिकरूपमा तरकारी उत्पादन गरी आत्मनिर्भरको बाटोमा छन् । तरकारी बेचेरै परिवारको खर्च धान्ने थारु महिलाले मासिक रु ३५ हजारसम्म कमाउने गरेका छन् ।
उनीहरू नेपालगञ्जको धम्बोझीमा ल्याएर आफूले उत्पादन गरेको तरकारी बेच्ने गर्छन् । एकदिनको अन्तरमा उनीहरु बर्दियाबाट नेपालगञ्ज तरकारी बेच्न आउँछन् । धम्बोझी चोकमा बिक्री नभएको तरकारी नेपालगञ्जका घरघरमा पु¥याएर बेच्छन् । समूह बनाएर एकाबिहानै घरबाट दिउँसोको खाना र बिक्री गर्ने तरकारी बोकेर निस्कने थारु महिला साँझ मात्रै घर फर्किन्छन् । खाना नल्याएको दिन होटेलमा खाजा नास्ता खान्छन् । चार÷पाँच वर्षदेखि व्यावसायिकरूपमा तरकारी खेती गर्न थालेका थारु महिला मौसमअनुसारको तरकारी नेपालगञ्ज, खजुरा, कोहलपुरलगायतका बजारमा पुगेर बेच्ने गर्छन् ।
एक दशकसम्म कमैया बसेकी भदैयाकी मनरानी थारु कमैया मुक्त घोषित भएपछि सरकार दिएको जग्गामा व्यावसायिकरूपले विगत पाँच वर्षदेखि तरकारी खेती गरिहनुभएको छ । आठ कठ्ठा जग्गामा तरकारी खेती गरेर नै उहाँले पाँच जनाको परिवार पाल्नुभएको छ । मासिक रु ३५ हजारसम्म कमाउने गरेको बताउँदै उहाँले भन्नुभयो, “पहिले सामान्य खर्च टार्न पनि ऋण लिनुपथ्र्यो । अहिले परिस्थिति फेरिएको छ । छोराछोरीलाई पढाउने, घरखर्च चलाउने काम आफ्नै परिश्रमबाट पूरा भएको छ ।” उहाँले तरकारी बेचेरै गाउँमै चार कठ्ठा जग्गा पनि किनिसकेको बताउनुभयो । आजभोलि उहाँको बारीमा धनियाँ, काउली, बन्दा, आलुलगायतका सागपात फलेका छन् ।
उहाँ आफ्नो बारीमा फलेका तरकारी र भएको कमाइबाट पूरा सन्तुष्ट रहेको बताउनुहुन्छ । गत वर्ष फागुनमा मात्र ६० क्विन्टल आलु उत्पादन गरेको उहाँले जानकारी दिनुभयो । ठूलो आलु बिक्रीका लागि नेपालगञ्ज, खजुरा र कोहलपुर पठाउने गरेको र सानो आलु घरघरमा पुगेर बिक्री गर्ने गरेको उहाँको भनाइ छ । आफ्ना उत्पादन बिक्री गर्न गाउँबाट समूह बनाएर निस्किने गरेको उहाँले बताउनुभयो ।
थारु समुदायको लोकप्रिय ‘थारु आलु’ अहिले पछिल्लो समय कम पाइन थालेको छ । थारु आलु कम र सानो फल्ने भएकाले लोप हुँदै गएको उहाँको भनाइ छ । “कमैया बस्दा धेरै दुःख भोग्नुप¥यो, आजभोलि आफ्नै बारीमा काम गर्न थालेपछि धेरै खुशी छु”, उहाँले भन्नुभयो । गाउँबाट तरकारी बोकेर नेपालगञ्ज आउने थारु महिलाले बस भाडाबापत प्रतिबोरा रु १५ सम्म तिर्ने गर्छन् । आवतजावतमा रु १०० खर्च हुने भए पनि तरकारी बेचेर एक जनाले दैनिक रु एक हजार ५०० सम्म कमाउने गरेका छन् ।
भदैयाकै ज्ञानी थारुले पनि पाँच कठ्ठामा तरकारी खेती गर्दै आउनुभएको छ । उहाँको बारीमा मौसमअनुसारको तरकारी उत्पादन भइरहन्छ । तरकारी खेती गरेरै छ जनाको परिवार पालेको उहाँले बताउनुभयो । तरकारी खेती गर्न उहाँलाई श्रीमान्ले पनि साथ दिनुभएको छ । श्रीमान्ले घरको काम हेर्ने र आफू गाउँगाउँमा पुगेर तरकारी बेच्ने गरेको उहाँले बताउनुभयो । बारीबाटै बेच्नुभन्दा घरघरमा तरकारी बेच्दा नाफा धेरै हुने उहाँको भनाइ छ । “हामीहरु घरघरमा पुगेर तरकारी बिक्री गछांैँ, श्रीमान्ले खेतबारीमा सिँचाइ गर्ने, तरकारी गोडमेल गर्ने काम गर्नुहुन्छ”, ज्ञानीले भन्नुभयो । आफ्नो बारीमा तरकारी उत्पादन नभएका बेला अरुको करेसाबारीको तरकारी खरिद गरेर बिक्री गर्न घरघरमा पुग्ने गरेको उहाँले बताउनुभयो ।
स्थानीयले उत्पादन गरेको तरकारी जैविक हुने भएकाले सबैले मन पराउने गरेको थारु महिला बताउँछन् । विषादीरहित तरकारी उत्पादन गर्ने गरेकाले आफ्नो तरकारी सहजै बिक्री हुने गरेको उनीहरुको भनाइ छ । भदैयाकै रामपति थारुले पाँच कठ्ठामा तरकारी खेती गर्नुभएको छ । गत वर्ष मात्रै उहाँले ३० क्विन्टल आलु उत्पादन गरेको बताउनुभयो । गाउँमा भन्दा घरघरमा पुगेर तरकारी बिक्री गर्दा दोब्बर नाफा हुने गरेको रामपतिले बताउनुभयो ।
उहाँले पनि तरकारी खेती गरेरै चार जनाको परिवार पाल्नुभएको छ । काम गर्न थालेपछि आर्थिक सङ्कट टर्दै गएको र जीवन चलाउन सहज भएको उहाँले बताउनुभयो । तरकारी खेती गर्न थालेपछि घरखर्च सहजरूपमा चल्नुका साथै छोराछोरीलाई पढाउन सहज भएको उहाँको भनाइ छ । बढैयाताल गाउँपालिका–६ का करिब ३० जना महिला समूहमा आबद्ध भएर तरकारी खेती गरिरहेका छन् । (रासस)
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ११ पुस २०७६, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
होटेलको सीसीटीभी फुटेज र बिल झिकाइ पाऊँ भन्दै रास्वपा सांसद कठायतले दिइन् उजुरी
कृषि अनुदान सम्बन्धी विवरण सार्वजनिक गर्दै मन्त्रालय
कृषिबाट आयआर्जन गर्दै दलित महिला
मकवानपुरगढीद्वारा कृषकलाई अनुदान
कृषि क्षेत्र उपेक्षित भएको महोत्तरीका मतदाताको गुनासो
कृषिमा आत्मनिर्भर बनाउन प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री थापा