भीम रावललाई ‘सुदूरपश्चिमको नेता’ भन्दै सूर्य थापाको हमला

सोमबार, ०७ पुस २०७६, ०८ : ५०
भीम रावललाई ‘सुदूरपश्चिमको नेता’ भन्दै सूर्य थापाको हमला

काठमाडौँ । नेकपा स्थायी कमिटी सदस्य भीम रावल पार्टी प्रवक्ता भएजसरी पत्रकारसामु प्रस्तुत भएको भन्दै प्रचारविभाग उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले असन्तुष्टि जनाएका छन् । उनले ‘परिभाषित जिम्मेवारी र कार्यक्षेत्रको प्रश्न’ भन्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक असन्तुष्टि जनाएका हुन् ।

अर्का गुटप्रति निर्मम रुपमा प्रस्तुत हुँदै आएका थापा पछिल्लो समय नेता माधव नेपाल समूह निकट मानिने रावलमाथि खनिएका हुन् । यसअघि पनि उनले पूर्वमाओवादी खेमा र वामदेव गौतम खेमामाथि पटक पटक सार्वजनिक रुपमा आलोचना गर्दै आएका थिए । पार्टी जिम्मेवार भूमिकामा बसेका व्यक्तिले आक्रामक टिप्पणी गरेको भन्दै उनको आलोचना समेत हुँदै आएको छ ।

यसैक्रममा उनले भीम रावलको पनि आलोचना गर्दै भनेका छन्, ‘पार्टीका निर्णयहरू पार्टी प्रवक्तामार्फत सार्वजनिक गरिने वैधानिक र व्यवहारिक जिम्मेवारी, परम्परा र अभ्यास रहिआएको छ । कमरेड भीम रावल सुदूर पश्चिम प्रदेश समन्वय कमिटी इन्चार्ज रहनुभएको छ । अनि प्रवक्ताको काममा यो के को अभ्यास हो ?’

सूदूरपश्चिम समन्वय कमिटी इन्चार्ज रहेका व्यक्तिले पार्टी प्रवक्ताजस्तो गरी स्थायी कमिटी बैठक पछि बोल्नु कति जायज भन्दै उनले भनेका छन्, ‘कार्यविभाजनमा जिम्मेवारी प्राप्त व्यक्तिहरू हरेकले आ–आफ्नो परिभाषित काम र जिम्माको हेक्का राख्नुपर्दछ कि ? जबकि सुदूर पश्चिम प्रदेशमा अरूले यस्तै गर्दा कमरेडलाई कति सैह्य हुन्छ ? यो तरिका त उचित हुँदै भएन । कुन काम कसको जिम्माको हो ? ख्याल गरिदिने कसले हो त ? अन्यथा, कार्यविभाजनबाट निर्धारित जिम्मेवारी कुण्डल र बुलाकीजस्तो हुने, अनि जो पनि प्रवक्ताजस्तो बनेर प्रस्तुत हुने अराजकता हावी हुन्छ ।’ उनले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ र आफू उपप्रमुखको जिम्मेवारीमा रहेको भन्दै नेताहरुले आफैँ प्रवक्ताजस्तो गरी टेलिभिजन क्यामेरासामु प्रस्तुत हुन अनुचित रहेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस