चिलीमा ३८ जना सवार  सैनिक बिमान बेपत्ता

एजेन्सी

मंगलबार, २४ मंसिर २०७६, १३ : २४
चिलीमा ३८ जना सवार  सैनिक बिमान बेपत्ता

सान्टियागो । चालक दलका सदस्य सहित ३८ जना सवार चिलीको सैनिक बिमानसँग सोमबार “रेडियो सञ्चार” सम्पर्क विच्छेद भएको सेनाले जनाएको छ । चिलीको वायुसेनाका अनुसार “अन्टार्कटिका हवाई अखडा”का लागि चिलीको दक्षिणी क्षेत्रबाट उडान भरेको केही क्षणमै बिमानसँग सञ्चार सम्पर्क विच्छेद भएको थियो । 

यसमा सवार व्यक्तिमध्ये १७ जना चालक दलका सदस्य र अन्य २१ यात्रु थिए ।

चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले “निराशा” मिश्रित एक ट्विटमा आफू गृहमन्त्री गोन्जालो ब्लूमेलसँगै पुन्ता एरेनास जाने बताउनुभएको छ । त्यहाँ रक्षा मन्त्री अल्बर्टो एस्पिनासँग खोज र उद्धार अभियानको अनुगमन गर्ने कार्यक्रम तय भएको राष्ट्रपति पिनेराले बताउनुभएको छ ।

वायुसेनाको विज्ञप्तिमा सी–१३० हर्कुलस बिमान स्थानीय समय अनुसार अपराह्न ४.५५ बजे पुन्ता एरिनासबाट उड्नासाथ सञ्चार सम्पर्क विच्छेद भएको जनाएको छ । 

वायुसेनाले साँझ ६.१३ बजे “सतर्कताको अवस्था” घोषणा गरी अरु विमान र चिली नौसेनाका जहाजहरूका साथ खोज तथा उद्धार अभियान सुरू गरेको थियो । 

चार इञ्जिनयुक्त उक्त विमान राजधानी सन्तियागोबाट करिब एक हजार ८७३ किलोमिटर दक्षिणस्थित पुन्ता एरेनासबाट उडेको थियो । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस