सन् १९४७ अगस्ट १५ आउनु केही महिना अगाडि नै ‘भाग्यसँग साक्षात्कार’ हुने सो दिनको आभास हुन थालेको थियो ।
लामो समय चलेको सङ्घर्षपछि ब्रिटिस दासता समाप्त हुन लागेको थियो । यस्तो समयमा खुसीको जुन माहोल कल्पना गर्न सकिन्थ्यो, त्यस्तो देखिँदैन थियो । कारण थियो, स्वतन्त्रताको खुसीसँगैसँगै विभाजनको दुःख ।
सत्ता हस्तान्तरणमा व्यस्त रहेका व्यक्तिहरूलाई त यो दुःखबाट ध्यान हटाउने बाहना थियो तर गान्धी यसमा सामेल थिएनन् । जीवनको ७८ वसन्त र केही प्रयोगका साक्षी रहेको उनको मन–मस्तिष्क उनको अनुभव–ज्ञानले मजबुत थियो । यो स्वाभाविक पनि थियो तर उमेरले शरीर कमजोर बनाएको थियो ।
गान्धीसँग सबैको गुनासो
मनको दृढ इच्छा शक्तिसँग गान्धीको बुढो शरीरले ताल मिलाउन सकिरहेको थिएन । आफ्नो उत्साही स्वाभाव र सामुन्ने आएको पहाडजस्ता चुनौतीका कारण उनी चुप लागेर बस्न स्वीकार गर्न सक्दैनथे । त्यसैले त अगस्ट १९४७ को कैयौँ महिना अघिदेखि लिएर जनवरी १९४८ सम्म उनी लगातार यात्रामा रहे ।
जहाँ समस्या आउँथ्यो, त्यहाँ गान्धी पुग्थे । मानिसहरू उनीसँग आफ्ना दुःख–पीडा बाढ्थे । प्रार्थानाबाट घृणाको ज्वाला निभाउने प्रयास गर्थे । भविष्यमा आत्मीय कायम राख्ने बाटो सुझाउँथे ।
जति ठाउँबाट उनलाई बोलाइन्थ्यो, आहात मानिसप्रति उनको सद्भाव हुन्थ्यो । भौतिक रूपमा त उनी सबै ठाउँमा पुग्न सक्दैनथे र पुग्न नसकेको ठाउँमा गान्धी चिठ्ठी वा दूत पठाउँथे ।
परिस्थिति विकराल र जटिल बन्दै गइरहेको थियो । विभाजन अघिको भारतको व्यास पनि ठूलो थियो तर यो व्यासका बाबजुद कराँचीको असर बिहारमा देखिन्थ्यो भने नोआखालीको कोलकत्तामा । विनास चारैतिर थियो । गान्धीसँग सबैको गुनासो थियो । आगो लगाउने र त्यसमा जल्नेको अतिरिक्त यो आगोमा हात सेक्ने सबैमा गान्धीसँग असन्तुष्टी थियो ।
किनकि उनीबाट आशा पनि सबैमा थियो । चाहे हिन्दूको आम संहार होस् वा मुुसलमान वा सिखको, गान्धीका लागि यी सबै आफ्नै मान्छेमाथिको प्रहार थियो । गान्धी यसलाई आफ्नो असफलता मान्थे ।
दिल्ली उत्सवमा डुबिरहँदा गान्धी कहाँ थिए ?
१५ अगस्तको आधा रातमा भारतले स्वतन्त्रता पायो । दिल्ली उत्सवमा डुबेको थियो । यो राष्ट्रको भावि शिल्पकारहरू पनि यस उत्सवमा सामेल भइरहँदा गान्धी भने टाढा कलकत्ताको ‘हैदरी महल’मा थिए ।
उनी नोआखालीको यात्रामा निस्केका थिए जहाँ हिन्दूहरूको भीषण नरसंहार भएको थियो । दुई–तीन दिनका लागि उनलाई कलकत्तामा रोक्नुपर्यो । यहाँ केहीअघि अल्पसङ्ख्यक मुस्लिमहरू जलाइएका थिए । नोआखालीको ज्वाला रोक्न गान्धीलाई कोलकाताको आगो शान्त गर्नु आवश्यक लागेको थियो ।
उनी के सोचिरहेका थिए भने कोलकातामा मुसलमानहरूलाई असुरक्षित छाडेर उनी कुन मुखले नोआखालीमा हिन्दूहरूको रक्षाको गुहार लगाउन पाउँछन् । गान्धी यहाँ अल्पसङ्ख्यकको सुरक्षा आफ्नो धर्म मानिरहेका थिए । यहाँबाट आर्जित नैतिक तागतले उनी नोआखालीमा अल्पसङ्ख्यकहरूको ज्यान र अधिकारको रक्षा गर्न सक्थे ।
कोलकातामा रहन गान्धीले यस्तो स्थानको चाहना गरे, जो आफैले विनासको बयान गरोस् । एक मुस्लिम बेवाको भग्नावशेष ‘हैदरी महल’ यसका लागि सबैभन्दा उपयुक्त थियो ।
यो क्षेत्रमा मुस्लिमहरू बहुसङ्ख्यक थिए । छेउमा कमजोर वर्गको मुसलमानहरूको बस्ती ‘मिया बगान’ थियो । मिया बगानमा लुटपाट र आगजनीको डर यस्तो थियो, कोही पनि यस बारेमा बोल्न तयार थिएन ।
यही हैदरी महलमा गान्धीले बास बसे तर शर्त यो पनि थियो, सुहरावर्दी पनि यहाँ उनको साथमा रहनुपर्छ, उनै सुहरावर्दी जसले वर्ष दिन पहिले ‘सीधा कारवाही’ नाममा सयौँ हिन्दूलाई मारेका थिए र हजारौँलाई बेघर गरेका थिए । हिन्दूप्रति घृणाका लागि कुख्यात सुहारावर्दीबाट आज आफ्नो अपराध स्वीकारेर शान्तिका लागि उभिनुपर्ने गान्धीको माग थियो ।
गान्धीको अर्को पनि शर्त थियो । कलकत्ताको मुस्लिम लीगसँग जोडिएका कट्टर नेताले नोआखालीमा रहेका आफ्ना ‘मान्छे’लाई टेलिग्राम पठाएर त्यहाँको हिन्दुहरूको रक्षा सुनिश्चित गरून् । साथै आफ्ना कार्यकर्ता पठाएर शान्तिको आधार तयार गरून् ।
गान्धी के हिन्दूहरूका शत्रु थिए ?
गान्धीका दुवै सर्त स्वीकार भयो । कलकत्तावासीसँग आफ्नो विचार बताइरहँदा बाहिर भने हिन्दु महासभा सम्बद्ध युवाहरूले नाराबाजी गरिरहेका थिए । उनीहरू गान्धीलाई मुसलमानहरूका हितैषी मानिरहेका थिए । उनीहरू गान्धीसँग प्रश्न गरिरहेका थिए, “हिजो हिन्दूहरू सङ्कटमा हुँदा तपाईं कहाँ हुनुहुन्थ्यो”, “त्यहाँ किन जानुहुन्न जहाँ हिन्दूहरू लखेटिइरहेका छन् ?”
यस्ता व्यक्तिहरू गान्धीलाई ‘हिन्दूहरूको शत्रु’ भनेर कराइ रहेका थिए ।
गान्धी १५ अगस्टलाई ‘महान घटना’का रूपमा मान्थे र आफ्ना मानिसलाई ‘उपवास, प्रार्थना र प्रायश्चित’ गरेर यो दिनलाई स्वागत गर्न प्रोत्साहित गरिरहे । उनी आफैले पनि यो महान दिनलाई यसरी नै स्वागत पनि गरे ।
कलकत्तामा गान्धी सफल सावित भए । शान्तिको माहोल बन्न लाग्यो । महात्माको आदर्शको असर सैन्य शक्तिभन्दा प्रभावकारी देखियो । तब त अन्तिम भायसराय तथा प्रथम गर्भनर जनरल माउन्टबेटनले टेलिग्राममार्फम मार्फत गान्धीलाई पठाएको बधाईमा भनिएको थियो, ‘पञ्जाबमा हामीसँग ५५ हजार सैनिक छन् तर दङ्गा नियन्त्रणमा आइरहेको छैन, बङ्गालमा हाम्रो सेनामा केवल एक व्यक्ति छ र त्यहाँ सम्पूर्ण रूपले शान्ति कायम छ ।’
गान्धी नोआखालीको यात्राबाट केही दिन निकालेर कलकत्तामा रोकिएका थिए । तर त्यहाँको बसाइ एक महिनाको रह्यो । बारुदको थुप्रोमाथि रहेझैँ रहेको र झिल्कोको प्रतीक्षामा रहेको लाग्ने सहरले गान्धीलाई त्यहाँबाट प्रस्थान गर्न दिएन ।
गान्धीले बारुदको ज्वाला निस्तेज गरिदिएका थिए । झिल्को पनि निभाइदिएका थिए । वर्ष दिनअघिको सुहरावर्दीको हर्कत देखेका मान्छेहरू उनको नयाँ आदर्शको प्रतिज्ञा सुनेर अचम्मित थिए । हुलदङ्गाकारी हिन्दू युवाहरू पनि प्रायश्चित गरिरहेका थिए ।
दिल्लीलाई गान्धीको आवश्यकता
गान्धीलाई दिल्लीले बोलाइरहेको थियो । उत्सवको समय वितिसकेको थियो । दिल्लीलाई अब गान्धीको आवश्यकता थियो । कलकत्ताका गान्धीबाट दिल्ली फेरि एक पटक अभिभूत थियो । दिल्ली महात्माको प्रतीक्षा गरिरहेको थियो, अधैर्यताका साथ ।
सेप्टेम्बर ९ को बिहान गान्धी दिल्ली आइपुगे । रेलस्टेसनमा गान्धीलाई लिन सरदार पटेल आएका थिए । तर उनको अनुहारमा हाँसाँे गायब थियो । जो सरदार पटेल कठिन सङ्घर्षको दिनमा पनि खुसी देखिन्थे, आज उनको अनुहारमा पीडा थियो । स्टेसनमा गान्धीले निक्कै कम मान्छे देखे । गान्धीको चिन्ता बढाउन यति काफी थियो ।
कारमा बस्नासाथ सरदार पटेलले मौनता तोडे “पछिल्लो पाँच दिनदेखि दङ्गा भइरहेको छ । दिल्ली मुर्दाको सहर बनेको छ ।”
गान्धीलाई उनको मनपरेको वाल्मीकि बस्ती लिएर गइएन । उनलाई बस्नका लागि व्यवस्था बिरला भवनमा गरिएको थियो । गाडी यहाँ आइपुगेको मात्र थियो प्रधानमन्त्री नेहरू पनि आइपुगे । यो संयोग थिएन । उनको मुहारको तेज गायब थियो ।
एक सासमा उनले ‘बापु’लाई सबै कुरा बताए । लुटपाट, आमसंहार, कफ्र्यु सबैको जानकारी दिए । खाने पिउने सामग्रीको अभाव, साधारण मानिसको दुर्दसा, पाकिस्तानलाई कसरी भन्न सकिन्थ्यो, त्यहाँ आफ्नो नागरिकको सुरक्षा गरिओस्... । कोही चर्चित सर्जन डा. जोशीले के उल्लेख गरे भने जो हिन्दू–मुसलमानको फरक नगरी सबको समान सेवा गरिरहेका थिए, उनलाई मुस्लिमको घरबाट गोली लाग्यो, बच्न पाएनन् ।
भारत–पाकिस्तानलाई तिनको बाटो सम्झाउँदै गान्धी
शान्तिका लागि सबै प्रयास जारी थियो । सबै एकजुट थिए, गान्धीका मान्छे र सरकार पनि । गान्धीको दिनचर्या पनि जारी थियो । प्रत्येक दिन प्रार्थनासभामा गान्धी आफ्नो कुरा गर्थे । रेडियोबाट यो प्रसारण हुन्थ्यो । तर यो प्रयास सायद अपुग्दो भइरहेको थियो ।
पाकिस्तानबाट फर्किरहेका हिन्दू र सिखहरूको भीड कम भइरहेको थिएन । यी फर्केका मान्छे रगतको बदला रगत चाहन्थे । गान्धीको कुरा यिनलाई मन पर्दैन थियो । यी व्यक्तिलाई गान्धी पाकिस्तानमाथि नैतिक दबाब बनाइरहेको बुझिरहेका थिएनन् । जिन्नालाई उनको नागरिक रक्षा गर्ने उनको कर्तव्य याद दिलाइरहेका थिए ।
गान्धीले भारतलाई पनि यो कर्तव्य सम्झाइरहेका थिए । कर्तव्य पलानमा गान्धी नैतिक शक्तिको वृद्धि देख्थे । उनी हरेक दिन योजना बनाउँथे र त्यसको कार्यान्वयन पनि गर्थे ।
जनवरीतिर हुलदङ्गामा कमी आइरहेको थियो । गान्धीलाई के विश्वास थिएन भने भारत वा पाकिस्तानमध्ये कसैले आफ्नो विश्वास तोड्छन् । भरोसा र वचन रक्षाका लागि कोही पनि गान्धीको विरोधमा जान तयार थिएन ।
गान्धी यही आत्मबलबाट नैतिक शक्ति पाउँथे । निकट भविष्यमा पाकिस्तान जाने पनि उनको योजनामा थियो । उनी जिन्ना र उनको सरकारलाई पराई सोच्दैनथे । हिन्दू महासभा विचार लिनेलाई शान्तिको प्रयास मन परिरहेको थिएन ।
यी कट्टर मान्छेहरू गान्धीको अनशनमा आत्मशुद्धिको प्रयास देख्दैनथे । जब दुनियामा गान्धीको जयकार लागिरहेको थियो, यिनीहरू गान्धी मुर्दावादको नारा लगाउँथे ।
संसारका श्रेष्ठ मस्तिष्क जसमा गर्भ गर्थे, जसको आत्मिक पवित्रताको प्रशंसा गर्थे, नाथुराम गोड्सेको वैचारिक सम्प्रदायले यसलाई बुझ्न सकिरहेको थिएन भने यसमा के आश्चर्य ?(बीबीसी)
प्रतिक्रिया दिनुहोस